१५ चैत्र २०८०, बिहीबार

अन्तिम साताबाट ए डिभिजन लिगको १० औँ चरणका खे

A‑Division League
फाइल फोटो

सहिद स्मारक ए डिभिजन लिगको १० औँ चरणका खेलहरू माघको अन्तिम साताबाट सुरु हुने भएका छन् । एन्फाले लिगका १० औँ चरणका खेलहरू माघको २७ गतेबाट सुरु गराउने तयारी गरेको छ ।

एन्फाका लिग निर्देशक सञ्जीव मिश्रले लिगको १० औँ चरणका खेलहरू माघको अन्तिम साता गर्ने तयारी भएको बताउनुभयो । अहिलेको तयारी अनुसार माघको २७ गतेबाट फागुनको एक गतेसम्म गर्ने योजना रहेको मिश्रले बताउनुभयो ।

नौ चरणका खेलहरू सकिएपछि करिब तीन साताका लागि लिगमा ब्रेक भएको थियो । यो बिचमा नै राष्ट्रिय फुटबल टिमले मोरिसससँग दुई मैत्रीपूर्ण खेलको योजना तय भयो । जसमा पहिलो खेलमा नेपाल एक शून्यले विजयी भएको थियो ।

नौ चरणसम्मको खेल सकिँदा मच्छिन्द्र क्लब लिगको शीर्ष स्थानमा छ । उसले जारी लिगमा आफ्नो अपराजित यात्रालाई कायम राखेको छ । उसले नौ खेलमा सात जित, दुई बराबरी खेल्दै २३ अङ्क जोडेको छ । साथै मच्छिन्द्रले एएफसी कपको छनौट चरण खेल्ने पनि पक्का भएको छ ।

अङ्क तालिकामा मच्छिन्द्रलाई पच्छ्याइरहेको मनाङले नौ खेलमा ६ जित र एक बराबरी र दुई हार बेहोर्दै १९ अङ्क बनाएको छ । उसले मच्छिन्द्र र सात दोबाटोसँग हार बेहोरेको थियो । तेस्रो स्थानमा रहेको आर्मीको १७ अङ्क छ । उसले नौ खेलमा चार जित पाँच बराबरी खेलेको छ । थ्री स्टार क्लब चौथो स्थानमा छ । उसको १६ अङ्क छ ।

यो पटकको लिगमा रेलिगेसनबाट बच्नका लागि च्यासल यूथ क्लब र फ्रेन्ड्स क्लबमाथि बढी दबाब रहेको छ ।