१२ बैशाख २०८१, बुधबार

मछिन्द्र बन्यो अपराजित रहँदै ‘ए’ डिभिजन लिग च्याम्पियन

सहिद स्मारक ‘ए’ डिभिजन लिग २०७८ को अन्तिम खेलमा लिग च्याम्पियन मछिन्द्र क्लबले विभागीय टोली एपीएफ फुटबल क्लबलाई २–१ को पराजित गरेको छ ।

एपीएफविरुद्ध एक गोल बेहोरेका मछिन्द्रका गोलकिपर विशालले यस सिजन पहिलो पटक ओपन प्लेमा गोल खाएका हुन् । विशालले एक हजार एक सय ८४ मिनेटपछि गोल खाएका हुन् ।

विशालले यसअघि लिगको पहिलो खेलमा न्युरोड टिम (एनआरटी) विरुद्ध गोल खाएका थिए । एनआरटीविरुद्ध ५४औं मिनेटमा फरवार्ड एरिक विष्टले फ्रिकिकमा मछिन्द्रविरुद्ध गोल गरेका थिए ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अभिषेक गुरुङले मछिन्द्रलाई अग्रता दिलाएका थिए । ४२औं मिनेटमा एन्ड्रेज चोङ्केउले निकालेको थ्रु बलमा अभिषेक गोल गरे ।

तर, प्रदीप लामाले ७०औं मिनेटमा गोल गरेपछि एपीएफ खेलमा फर्किएको थियो । ८१औं मिनेटमा रेजिन सुब्बाले गोल गरेपछि मछिन्द्रले २–१ को जित निश्चित गर्‍यो ।

त्यसअघि सशस्त्र प्रहरी बलको एपीएफ फुटबल क्लबका विक्की तामाङले गरेको पासमा आशिष लामाले छैटौं मिनेटमा गोल गर्न सकेनन् ।

मछिन्द्र फुटबल क्लबका विशाल राईको एक्रोभेटिक सर्टमा अभिषेक रिजालको २१औं मिनेटमा गरेको प्रहार एपीएफका युया कुरियामाले उत्कृष्ट बचाउ गरे ।

त्यसको चार मिनेटपछि विशालले दिएको क्रस पासलाई विमल घर्ती मगरले राम्रो सदुपयोग गर्न सकेनन् । उनले गरेको फितलो प्रहार बाहिरियो ।

एपीएफका प्रदीप लामाले ३८औं मिनेटमा ६ यार्डबाट क्रस गरे पनि आशिष लामाले भेटाउन सकेनन् । पहिलो हाफको अन्तिम तीन मिनेटमा गोल खाएपछि एपीएफ दोस्रो हाफमा केही आक्रामक बनेको थियो ।

आशिष लामाले ६३औं मिनेटमा १८ यार्ड बक्सबाहिरबाट प्रहार गरेको फ्रिकिट पोस्टको माथिबाट बाहिरियो । खेलको ८९औं मिनेटमा आवास लामिछानले दोस्रो पहेँलो कार्डपछि रातो कार्ड बेहार्दै मैदानबाट बाहिरिएपछि एपीएफ १० खेलाडीमा सीमित बनेको थियो ।

लिगको ११औं चरणमा सातदोबाटो युथ क्लबलाई १–० ले पराजित गरेसँगै दुई खेल अगावै लिगको उपाधि रक्षा गरेको मछिन्द्रले १३ खेलबाट ३५ अंक जोड्दै लिगको अन्त्य गर्यो । त्यस्तै, समान खेलबाट १५ अंक जोडेको एपीएफले आठौँ स्थानमा रहँदै लिगको अन्त्य गर्यो ।

यस पटक लिग तालिकाको पुछारमा रहेका दुई टोली च्यासल यूथ क्लब र ब्रिगेड ब्वाइज क्लब (बिबिसी) दोस्रो डिभिजनमा घटुवा भएका छन् ।
विजेता बनेसंगै मछिन्द्रले नगद ७५ लाख पुरस्कार प्राप्त गरेको छ । समापन समारोहका प्रमुख अतिथि अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले विजेता र उपविजेता टिमलाई पुरस्कार प्रदान गरेका थिए । यस्तै फस्ट रनरअप बनेको त्रिभुवन आर्मी क्लवले ५० लाख नगद प्राप्त गरेको छ भने सेकेण्ड रनरअप न्यूरोड टिम (एनआरटी)ले २५ लाख रुपैयाँ प्राप्त गरेको छ ।