६ बैशाख २०८१, बिहीबार

प्रतिकुलताबीच अनुकुलता ल्याउने हाम्रो काम हो : महानिरीक्षक क्षेत्री

saiesh

नेपाली प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रतिकुलतावीच अनुकुलता ल्याउनु नेपाल प्रहरीको दायित्व भएको बताउनुभएको छ । जिल्ला प्रहरी कार्यालय गोरखाको नवनिर्मित कार्यालय भवन उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभयो ।

जस्तोसुकै कठिन परिस्थितिमा पनि नेपाल प्रहरीले देश र जनताको हितमा काम गरेको उहाँले दाबी गर्नुभयो । ‘अहिले पनि धेरै प्रहरीहरु चुहिइको भवनमा बस्छन् । हामी ज्यान जोखिममा राखेर पनि सेवारत छौं,’ उहाँले भन्नुभयो, ‘हामीसँगै जनताको साथ र विश्वास छ । हामी त्यसैमा गौरब गर्छौं ।’

नेपालका धेरै प्रहरी चौकीहरु भवन अझै अस्थायी रहेको, भूकम्पले भत्काएका पुनर्निर्माणकै क्रममा रहेको भन्दै उहाँले बिस्तारै सबै संरचना बन्दैजाने विश्वास व्यक्त गर्नुभयो । प्रहरीको मुख्य जिम्मेवारी जनताको जिउधनको रक्षा गर्नु रहेको उहाँले बताउनुभयो । सरोकारवाला निकायसँग समन्वय र सहकार्य गरी सेवालाई थप प्रभावकारी बनाउदै लैजाने उहाँको प्रतिवद्धता छ ।

नेपाल प्रहरी संगठनलाई थप व्यवसायिक बनाउन विभिन्न काम गरिरहेको पनि उहाँले बताउनुभयो । सोहीअनुरुप तल्लो दर्जाका प्रहरीको हितमा प्रहरी नियमावली संशोधन गरिएको उहाँले बताउनुभयो । ‘जो सिपाहीमा इन्ट्री गर्थे त्यसले त्यही तलब र रासनमा पेन्सन बस्नु पथ्र्यो,’ उहाँले थप्नुभयो, ‘अब रिटाएर भएर निस्कँदा कम्तिमा प्रहरी सहायक निरीक्षकको हैसियतमा तलब र रासन सुबिधा पाइने छ ।’

लगातार सिपाही दर्जामा रहेको प्रहरी ८ वर्षपछि स्वतः बढुवा हुने व्यवस्था पनि बनाइएको उहाँले बताउनुभयो । यसअघि १२ वर्षपछि मात्र बढुवा हुने व्यवस्था थियो । २०७२ बैशाख १२ गते गएका बिनाशकारी भूकम्पले भत्काएको जिप्रका भवन पुनर्निर्माण सम्पन्न भएको पनि उहाँले बताउनुभयो ।

अब नयाँ भवन बनेसँगै प्रहरीको सेवा प्रवाह सहज हुने विश्वास उहाँले व्यक्त गर्नुभयो । कार्यक्रममा गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्त, प्रमुख जिल्ला अधिकारी शंकरहरि अधिकारी, पत्रकार महासंघ गोरखाका अध्यक्ष नरहरि सापकोटा लगायतले प्रहरीले सीमित स्रोतसाधनका बाबजुद पनि उत्कृष्ट कार्यगरेको बताउनुभयो ।

सो अबसरमा ८३ वर्षीय पूर्व प्रहरी नायव निरीक्षक नारायणभक्त अर्याललाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । कोरोनाको मापदण्ड पूरागरी २५ जना मात्र सहभागी गराएर कार्यक्रम गरिएको प्रहरीले जनाएको छ ।