१५ बैशाख २०८१, शनिबार

सर्लाहीका किसानले पाए समयमै उखुको भुक्तानी

sugarcane

सर्लाहीको हरिवनमा रहेको इन्दुशङ्कर चिनी उद्योगले उखु किसानलाई भुक्तानी दिन शुरू गरेको छ ।

गएको पुस १५ गतेबाट उखु क्रसिङ शुरू गरेको यो उद्योगले अहिलेसम्म किसानलाई २७ करोड रुपियाँ भुक्तानी गरिसकेको उद्योगका प्रशासकीय अधिकृत ठाकुर नेपालले जानकारी दिनुभयो ।

उहाँका अनुसार किसानसँग पुस मसान्तसम्म लिएको उखुको भुक्तानी भइसकेको छ । इन्दुशङ्करले हालसम्म नौ लाख १५ हजार क्विन्टल उखु क्रसिङ गरिसकेको जनाएको छ ।

सरकारले तोकेको मूल्यअनुसार उखु किसानको भुक्तानी गरिरहेको प्रशासकीय अधिकृत ठाकुरले बताउनुभयो । यस वर्ष उखुको प्रतिक्विन्टल मूल्य ५९० रुपियाँ कायम गरिएको छ ।

५९० रुपियाँमध्ये उद्योगीले ५२० रुपियाँ भुक्तानी गर्नुपर्नेछ भने बाँकी ७० रुपियाँ सरकारले अनुदानबापत किसानलाई उपलब्ध गराउनेछ ।