१३ बैशाख २०८१, बिहीबार

लुटेरा समूहद्वारा दिनदहाडै सहकारी संस्थाका प्रमुखमाथि गोली प्रहार सर्लाहीमा

sarlahi gun fire

सर्लाहीको मिलन चोकस्थित एक सहकारी संस्थाका प्रमुखमाथि लुटेरा समूहले दिनदहाडै गोली प्रहार गरेको छ । रकम लुट्ने प्रयास गरेको लुटेरा समूहले सहकारीका प्रमुखमाथि तीन राउन्ड गोली प्रहार गरेको हो ।

वागमती नगरपालिका–१ मिलन चोकस्थित सगुन बचत तथा ऋण सहकारी संस्थाका सेवा केन्द्रमा बुधबार बिहान साढे १० बजे लुटेरा समूहले गोली चलाएको थियो ।

भारतीय नम्बरको मोटरसाइकलमा तीन जनाको समूहमा आएको लुटेराले सेवा केन्द्रका प्रमुख लालबन्दी नगरपालिका–२ जुटपानीका ३० वर्षीय साजन कार्कीलाई रकम राखिएको झोला दिन धाकधम्की दिएका थिए । त्यस क्रममा कार्कीले प्रतिकार गर्दा लुटेरा समूहले गोली प्रहार गरेको प्रहरीले जनाएको छ । 

कार्कीको दाहिने पाखुरा, दाहिने कोखा, बायाँ कोखा र दाहिने तिघ्रामा गोली लागेको प्रहरीले जनाएको छ । गम्भीर घाइते उनलाई हरिवनस्थित सरस्वती अस्पतालमा सामान्य उपचारपछि काठमाडौं रेफर गरिएको छ ।

कार्की हरिवन बजारमा रहेको मुख्य कार्यालयबाट झोलामा पैसा बोकेर सेवा केन्द्र पुगेका थिए । लुटेराको समूह पुग्नुभन्दा अगावै उनले सो रकम लकरभित्र राखिसकेकाले लुटपाट हुनबाट जोगिएको प्रहरीले अनुसन्धानबाट खुलेको जनाएको छ । प्रहरीले घटनाबारे अनुसन्धान थाल्नुका साथै लुटेराहरूको खोजी गरिरहेको जनाएको छ ।