२२ बैशाख २०८१, शनिबार

डाक्टरको गलत रिपोर्टका कारण विजयको मृत्यु, कारवाही र क्षतिपूर्ति माग

Dead

नेशनल मेडिकल कलेज वीरगञ्जका चिकित्सक इस्लाम मन्सुरीको गैरजिम्मेवारीका कारण कलैया उपमहानगरपालिका–२० ढोडा निवासी २२ वर्षीय विजय कुशवाहाको मृत्यु भएको भन्दै परिवारजनले कारवाही र क्षतिपूर्तिको माग गरेका छन् । बिहीबार पत्रकार सम्मेलन गरी परिवारजनले दोषीलाई कडा कारवाही र पीडितजनलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गरेका हुन् ।

यही चैत १५ गते समान्य ज्वरो र रुघाखोकी लागेपछि नेशलन मेडिकल कलेजमा भर्ना गरिएका विजयलाई स्वास्थ्य जाँच गरी डा मन्सुरीले कोरोना भाइरसको सङ्क्रमण भएको बताएको मृतकका भाइ महेशले बताए।

बेड नम्बर २४ मा भर्ना गरिएका दाइको वार्डबाट सबै बिरामीलाई अर्को वार्डमा सारेको र आफूहरुमाथि दुव्र्यवहार गरी प्रहरी लगाई ‘कोरोना भएको व्यक्तिलाई एक मिनेट पनि राख्न नसक्ने’ भन्दै अस्पतालले जबरजस्ती नारायणी अस्पतालमा पठाएको मृतकका अर्का भाइ राजाले बताए।

नारायणी अस्पतालले बिरामीको अवस्था हेरी वीरगञ्जको हेल्थकेयरमा रिफर गरेको थियो । त्यस अवधिसम्म मिडियामा दाइ विजयको कोरोना लागेको खबर पनि अस्पतालले चारैतिर फैलाइसकेको भाइ महेशको आरोप छ ।

चैत १६ गते हेल्थकेयर, ब्योधालगायतका अस्पतालमा लगे पनि कोरोना लागेको हो भनी उपचार नगरेपछि बाध्य भएर राति करिब नौ बजे एम्बुलेन्स भाडामा लिई काठमाडौँ लगिएको उनले बताए। “बाटोमै दाइको अवस्था निकै बिग्रिसकेको थियो । टिचिङ अस्पतालमा भर्ना गराएपछि केहीबेरमै मृत घोषणा गरियो,” महेशले भने, “शवलाई फ्रिजमा राख्न लगाएर म र भाइ राजालाई क्वारेन्टाइनमा राखी खानसमेत दिइएन ।”

त्यहाँका वरिष्ठ चिकित्सकहरूले आफूहरुलाई बोलाई सबै कुरा सोधपुछ गरेर कोरोना परीक्षणका लागि शव टेकु अस्पतालमा पठाएइएको र परीक्षणमा दाइ विजयमा कोरोना भाइरसको सङ्क्रमण फेला नपरेपछि चैत १८ गते शव बुझाएको उनले बताए। उनका अनुसार त्यही दिन शवलाई बारा ल्याई दाहसंस्कार गरियो । मृतककी श्रीमती अन्तिमा सात महिनाको गर्भवती छिन् ।

बारा र पर्साका प्रहरी प्रशासनलाई समस्याका बारेमा जानकारी दिँदासमेत कुनै सुनवाइ नभएकाले दाइको ज्यान गएको भन्दै भाइ महेशले अरु नेपाली दाजुभाइको पनि दाइजस्तो ज्यान नजाओस् भनेर सबैलाई सचेत हुन आग्रह गरे।

उनले यस्तो गैर जिम्मेबार नेशनल मेडिकल कलेजको खारेजी र डाक्टरमाथि कडा कारवाहीको माग गरेका छन्। कोरोना पुष्टि भएको रिपोर्ट दिने नेशनल मेडिकल कलेजका प्रबन्धक, चिकित्सक, नर्स र ल्याबमा काम गर्नेहरु विरुद्ध जिल्ला प्रहरी कार्यालय पर्सामा ज्यान मार्ने मुद्दा दिने उनले बताए । रासस