१४ बैशाख २०८१, शुक्रबार

समय सीमाभित्रै स्थानीय तहको निर्वाचन गर्न सत्ता गठबन्धन सहमत

gathabandhan

सत्तारूढ गठबन्धन दलहरुबीच संविधान र कानूनले तोकेको समय सिमाभित्रै स्थानीय तहको निर्वाचन गर्ने विषयमा सहमति भएको छ ।

सरकारलाई सहयोग गर्न गठित उच्चस्तरीय राजनीतिक समन्वय समितिको प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकमा निर्वाचनसँग जोडिएका विषयमा छलफल केन्द्रित रहेको नेकपा (माओवादी केन्द्र) का नेता देवबहादुर गुरुङले राससलाई जानकारी दिनुभयो ।

बैठकमा नेताहरुले संविधान र कानूनले गरेको व्यवस्थाअन्तर्गत नै रहेर स्थानीय तहको निर्वाचन सम्पन्न गर्नुपर्छ भन्ने सुझाव दिनुभएको जानकारी दिँदै उहाँले कोभिड–१९ को चुनौतीको कसरी सामना गर्ने भन्ने विषयमा पनि छलफल भएको बताउनुभयो ।

यस बारेमा सत्तारुढ पाँच दलले आ–आफ्नो दलभित्र थप छलफल गर्ने र शीर्ष नेताहरुले एक÷दुुई दिनमा टुङ्गो लगाउने सहमति भएको नेता गुरुङले बताउनुभयो । निर्वाचनको मिति भने मन्त्रिपरिषद्ले तोक्ने बैठकमा सहमति भएको छ ।

यसैगरी कोभिड–१९ को सङ्क्रमणको चुनौतीका बाबजुद यही माघ १२ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचन कसरी सफल बनाउने भन्ने विषयमा समेत बैठकमा छलफल भएको थियो ।

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको समन्वयमा भएको बैठकमा सत्तारूढ गठबन्धन दल कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका शीर्षनेता सहभागी हुनुहुन्थ्यो ।

राष्ट्रियसभाका एक तिहाइ सदस्यको निर्वाचन माघ १२ गते हुँदैछ भने कानूनमा स्थानीय तहका पदाधिकारीको अवधि सकिनु अगावै निर्वाचन गर्नुपर्ने प्रावधान छ ।

सत्तारूढ गठबन्धन दलहरुले सरकार सञ्चालनमा सहयोग गर्न कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा उच्चस्तरीय समन्वय समिति गठन गरेका थिए ।