१८ बैशाख २०८१, मंगलवार

बलमिच्याइँ रोक्न भारतलाई भन्यो एमालेले: ‘लिपुलेकमा भइरहेको सडक निर्माणको काम तत्काल रोक’

Uml New office 1024x538 1

नेकपा (एमाले)ले भारतलाई नेपालमाथिको बलमिच्याइँ रोक्न आग्रह गरेको छ । एमालेले मंगलबार विज्ञप्ति जारी गर्दै नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डतामाथि आँच पुर्‍याउने गतिविधि तत्काल रोक्न भारतसँग आग्रह गरेको हो ।

‘नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाभिमानमाथि आँच पुर्‍याउने यस्ता गतिविधि तत्काल बन्द हुनुपर्छ, सडकलगायत संरचना निर्माण रोकिनुपर्छ’, विज्ञप्तिमा भनिएको छ, ‘वार्ताको माध्यमबाट यस विषयलाई अविलम्ब टुङ्ग्याइनुपर्छ र वार्ताबाट समाधान नखोजिँदासम्म राज्यस्तरबाट कुनै पनि संरचना बनाइनुहुन्न भन्ने नेकपा (एमाले)को अविचलित मान्यता छ ।’

हालै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चीनको मान सरोवरसम्म पुग्न नेपाली भूमिका कालापानी हुँदै बाटो बनाइरहेको बताएका थिए ।

‘हाम्रो पार्टी यस विषयमा भारतसँग अविलम्ब गम्भीर संवाद गर्न, सबैखाले बलमिच्याइँ रोक्न लगाउन र नेपाली भूभागमा नेपालको व्यवहारिक स्वामित्व स्थापनाका लागि सार्थक पहल गर्न सरकारसँग माग गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।

UML release about Lipulek 768x1114 1