२४ बैशाख २०८१, सोमबार

बी म्यानेजमेन्टले नारायणहिटी दरबार सङ्ग्रहालयमा १४ रोपनी जग्गा अतिक्रमण

narayanhiti resturant

बी म्यानेजमेन्ट (बतास अर्गानाइजेसन) प्रालिले नारायणहिटी दरबार सङ्ग्रहालयमा सरकारको स्वीकृति विना १४ रोपनी जग्गा अतिक्रमण गरेको पाइएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सहसचिव होम प्रसाद लुइँटेलको संयोजकत्वमा गठन गरेको ५ सदस्यीय छानबिन समितिले विना स्वीकृति नारायणहिटी दरबारको जग्गा अतिक्रमण गरेको पत्ता लगाएको हो ।

छानबिन समितिले आज मन्त्रालयमा गरेको पत्रकार सम्मेलनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेलाई प्रतिवेदन हस्तान्तरण गर्दै नारायणहिटी दरबार संग्रालयको जग्गा अतिक्रमण हुँदा पनि संग्रालय समितिले कुनै पनि कानुनी कारबाही नगरेको पाइएको जनाएको छ ।

छानबिन समितिले बुझाएको प्रतिवेदन बुझ्दै मन्त्री आलेले प्रतिवेदनमा भएका सुझाव एवं निष्कर्षलाई अध्ययन र छलफल गरी कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउनुभयो ।

मन्त्री आलेले राज्यका कुनै पनि सम्पत्ति दुरुपयोग हुन नदिने भन्दै यसमा संलग्न सबैलाई कडा कानुनी कारबाही गर्ने बताउनुभयो ।

मन्त्री आलेले नारायणहिटी दरबार सङ्ग्रहालयमा इजाजत विना बनाइएका संरचना भत्काइएको पनि जानकारी दिनुभयो ।

संग्रालयभित्र क्यान्टिन बनाउने ठेक्का लगाउँदा मन्त्रालयसँग सहमति नलिएको र बतास परिवारकै शेयर भएको तीन वटा कम्पनीबीच मात्र प्रतिस्पर्धा गराएर ठेक्का लगाएकाले ठेक्का सम्झौता कार्यमा एक आपसमा मिलेमतो भएको हुनसक्ने छानबिन समितिका संयोजक होम प्रसाद लुइँटेलले बताउनुभयो ।

दरबार संग्रालयभित्र ६ दशमलव ३४ आना जग्गामा क्यान्टिन सञ्चालन गर्न दिने दरबार संग्रालय विकास समितिसँगको ठेक्का सम्झौता भए पनि बि म्यानेजमेन्ट प्रालिले १४ रोपनी जग्गा अतिक्रमण गरी अन्य संरचना बनाएको प्रतिवेदनमा उल्लेख छ ।

विकास समितिका कार्यकारी निर्देशकले समितिको स्वामित्वमा रहेको जग्गामा पूर्वस्वीकृति र समन्वय नगरी नयाँ संरचनाहरू निर्माण भइरहँदा पनि कुनै संरक्षण र संवर्धनका लागि कुनै पहल नगरेकाले कार्यकारी निर्देशकलाई कानुनी कारबाही गर्न प्रतिवेदनले माग गरेको छ ।

Capture 5