७ बैशाख २०८१, शुक्रबार

मन्त्रालयको प्रहरी र अख्तियारलाई दाहाललाई कारबाही गर्न पत्र

narayan dahal

नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिका तत्कालीन कार्यकारी निर्देशक भेषनारायण दाहालमाथि छानबीन गरि कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल प्रहरीलाई सस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालयले सिफारिस गरेको छ ।

दाहालले नारायणहिटी दरबार संग्रहालय परिसरको भवन र जमिन क्याफटेरिया सञ्चालनका लागि बतास समूहलाई ठेक्कामा दिएको भन्दै मन्त्रालयले दाहाललाई कारबाही गर्न पत्रचार गरेको हो । ।

बतास समूहले नयाँ संरचना बनाएपछि विवाद बाहिर आएको थियो । मन्त्रालयले गरेको छानबीनका क्रममा दाहालले प्रदत्त अधिकारभन्दा बढी विषय समावेश गरेर सम्झौता गरेको पाइएको मन्त्रालयले जनाएको छ ।

बतास समूहले सम्झौताभन्दा बढी करीब १४ रोपनी जमिनमा संरचना निर्माण गर्दा पनि दाहालले नारायणहिटी संग्रहालय परिसरको सम्पत्तिको संरक्षण र सम्वर्द्धनको जिम्मेवारी पूरा नगरेको छानबीन समितिको ठहर छ ।

छानबीन समितिले प्रतिवेदन बुझाएको भोलिपल्ट मंगलबार दाहालले कार्यकारी निर्देशकबाट राजीनामा दिएका छन् । तर, मन्त्रालयले भने उनको राजीनामा स्वीकृत नगर्दै छानबीन समितिको सिफारिसका आधारमा फौजदारी कसुरमा अनुसन्धान गरी कारबाही गर्न नेपाल प्रहरी र मिलेमतोमा ठेक्का लगाएको र अधिकार क्षेत्रभन्दा बाहिर गरेर सम्झैता गरेको विषयमा दाहालमाथि अनुसन्धान गरी कारबाही गर्न अख्तियारलाई पत्रचार गरेको छ ।