१५ चैत्र २०८०, बिहीबार

कौडीको भाउमा सङ्ग्रहालयको सम्पत्ति दिने र मनोमानी गर्नेलाई कारबाही हुन्छ

61e3fdfa9083f prem aley

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नारायणहिटी दरबार सङ्ग्रहालयको सम्पत्ति कौडीको भाउमा दिने र मनपरी ढङ्गबाट प्रयोग गर्ने कसैलाई पनि नछाड्ने बताउनुभएको छ ।

आज मन्त्री आलेले नारायणहिटी दरबार सङ्ग्रहालयमा बतास समूहले निर्माण गरेका भौतिक संरचनाको निरीक्षण अवलोकन गर्दै सङ्ग्रहालयभित्र रेस्टुरेन्ट लगायतका व्यवसाय गर्न दिइएको अनुमतिमा गलत देखिएका विषयमा कानुनबमोजिम कारबाही हुने बताउनुभयो ।

नारायणहिटी दरबार सङ्ग्रहालयभित्र रेस्टुरेन्ट लगायतका व्यवसाय गर्न बतास समूहलाई दिने निर्णयपछि उक्त समूहले आधिकारिक निकायबाट नक्सा पास नगरी एवं निर्माण स्वीकृति नलिई र मन्त्रालय एवं विकास समितिको पूर्वस्वीकृति नलिई अनुमानित १४ रोपनी क्षेत्रफल रहेको जग्गामा थप नयाँ संरचना निर्माण गरिरहेको थियो ।

दरबार सङ्ग्रहालयभित्र रेस्टुरेन्ट लगायतका व्यवसाय गर्न बतास समूहलाई दिने निर्णयका बारेमा गठन गरिएको छानबिन समितिले क्यान्टिन–क्याफ्टेरिया सञ्चालन गर्नका लागि प्रयोग गर्न पाउने क्षेत्रफल र स्थानको स्पष्ट सीमाङ्कन नभएको, बढी क्षेत्र ओगटी थप निर्माण कार्य गर्न प्रोत्साहन भएको उल्लेख गरी आफ्नो प्रतिवेदन पेश गरेपछि दोषी ठहरिएकालाई कारबाहीका लागि मन्त्रालयले अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा प्रहरी प्रधान कार्यालयमा समेत पत्राचार गरेको छ ।

मन्त्री आलेले नारायणहिटी दरबार सङ्ग्रहालय परिसरमा निर्माण भइरहेको रेस्टुरेन्टको काम रोक्न नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालक विकास समितिलाई गत पुस २० गते निर्देशन दिनुभएको थियो ।