१५ बैशाख २०८१, शनिबार

दूधको मूल्य निर्धारण गर्ने सरकारको तयारी, प्रतिलिटर १० रुपैयाँसम्म बढ्ने

milk packet nepal

सरकारले दूधको मूल्य निर्धारण गर्ने भएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले एक समिति बनाएर राष्ट्रिय दुग्ध विकास बोर्डमार्फत सातवटै प्रदेशमा अध्ययन गराएको छ । सो अध्ययनका आधारमा प्रतिवेदन तयार गर्ने काम भइरहेको बोर्डका प्रमुख डा राजेन्द्र यादवले बताउनुभयो । उहाँले आइतबारसम्म प्रतिवेदन तयार गरेर मन्त्रालयलाई बुझाइसक्ने जानकारी दिनुभयो । मन्त्रालयले त्यसलाई अध्ययन गरेर दूधको मूल्य निर्धारण गर्ने उहाँले बताउनुभयो ।

पुस मसान्तभित्र दूधको मूल्य निर्धारण हुने उहाँले बताउनुभयो । अहिले प्रदेशबाट अध्ययन गरेर आएका डकुमेन्टलाई अध्ययन गर्ने काम भइरहेको उहाँले जानकारी दिनुभयो ।

यसअघि प्रशोधित दूधको मूल्य निर्धारण हुने गरेको र त्यसका आधारमा किसानको हिस्सा छुट्याएर कच्चा दूधको मूल्य निर्धारण हुन्थ्यो । यसपालि कच्चा दूधकै मूल्य निर्धारण हुने र त्यसका आधारमा प्रशोधित दूधको अर्को मूल्य निर्धारण गर्ने अध्ययन समितिका एक सदस्यले बताउनुभयो ।

दूध उत्पादनमा लगानी र खर्चको औसत हिसाब निकाल्दा हालको मूल्यमा प्रतिलिटर छ–दस रुपियाँ मूल्य वृद्धि गर्नुपर्ने बोर्डले गराएको अध्ययनले देखाएको छ । बोर्डले यसअघि एउटा संस्थाबाट गराएको अध्ययनअनुसार किसानको लगानीअनुसार हालको मूल्यमा छ रुपियाँदेखि १० रुपियाँ मूल्य वृद्धि गर्नुपर्ने सुझाव दिएको छ । हाल दूधको मूल्य प्रतिलिटर ५० रुपियाँदेखि ७० रुपियाँ रहेको छ ।

तीन वर्षदेखि दूधको मूल्य वृद्धि भएको छैन । हालको मूल्यमा डेरी उद्योगीले प्रतिलिटर १० रुपियाँ र किसानले प्रतिलिटर १६ रुपियाँ वृद्धि गरेर दूधको मूल्य निर्धारण गर्नुपर्ने प्रस्ताव गरिएको डेरी एसोसिएसनका महासचिव प्रह्लाद दाहालले बताउनुभयो ।