१६ चैत्र २०८०, शुक्रबार

आजदेखि लागू हुने गरी बढ्यो दूधको मूल्य

milk

दुग्ध विकास संस्थान (डीडीसी)ले आजदेखि दूधको उपभोक्ता मूल्य बढाएको छ।

यसअघि दूधको उपभोक्ता मूल्य प्रतिलिटर ७६ रहेकोमा आजदेखि बढेको मूल्य लागू भएर प्रतिलिटर ८५ हुने भएको छ। डीडीसीको हिजो बसेको सञ्चालक समितिको बैठकले दूधको मूल्य प्रतिलिटर ८५ निर्धारण गर्ने निर्णय गरेको थियो।

बोर्डको निर्णयअनुसार डीडीसीले देशभर तीन थरी मूल्य निर्धारण गरेको छ। काठमाडौँ उपत्यकासहित विराटनगर हेटौँडा र जनकपुरमा प्रतिलिटर ८५ कायम गरिएको छ ।

यस्तै बुटवल भैरहवामा प्रतिलिटर ८१ र नेपालगञ्ज तथा धनगढी क्षेत्रमा प्रतिलिटर ७९ मूल्य कायम हुनेछ। यसअघि काठमाडौँमा ७६, बुटवल भैरहवामा ७२ र नेपालगञ्ज क्षेत्रमा ७० तोकिएको थियो। बढेको नयाँ मूल्यअनुसार ६ रुपैयाँ ५२ पैसा किसानका लागि तथा प्रतिलिटर दुई रुपैयाँ ४८ पैसा उद्योगीले पाउनेछन्।

यस्तै पाँच प्रतिशत फ्याट हुने फुलक्रिम (हरियो प्याकेट) को दूधको मूल्य लिटरमा १४ रुपैयाँसम्म बढेको छ। काठमाडौंमा यस्तो दूधको मूल्य प्रतिलिटर ११४ रुपैयाँ कायम भएको छ। विराटनगरमा १०४, हेटौंडा र जनकपुर क्षेत्रमा १०२ र लुम्बिनी, नेपालगञ्ज र धनगढी क्षेत्रमा १०० रुपैयाँ कायम भएको छ।

डीडीसीले बिक्री गर्ने गाईको दूध (पहेँलो प्याकेट) को मूल्य लिटरमा १० देखि १२ रुपैयाँसम्मले बढेको छ।

यसअघि गत माघ १७ गते बसेको मन्त्रिपरिषद्को बैठकले किसानका लागि प्रतिलिटर ६ रुपैयाँ५२ पैसा वृद्धि गरी ५६ रुपैयाँ ४ पैसा निर्धारण गरेको थियो।