७ बैशाख २०८१, शुक्रबार

जसको नीति, उसकै नेतृत्व: सकेसम्म सर्वसम्मत नेतृत्व चयन, नभए निर्वाचनको तयारी

prachanda1640944649

नेकपा (माओवादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशनले राजनीतिक प्रतिवेदन र विधान पारित गरेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गर्नुभएको राजनीतिक दस्तावेज र नेता देव गुरुङले प्रस्तुत गर्नुभएको विधान मस्यौदा सर्वसम्मतले पारित भएको हो । अध्यक्षको राजनीतिक प्रतिवेदन र विधान पारित भएसँगै अब कार्यसमिति चयनको प्रक्रिया सुरु हुनेछ ।

पुस ११ देखि १५ गतेसम्म सम्पन्न गर्ने भनिएको आठौं महाधिवेशन अवधि दुई दिन लम्बिएको छ। शनिबार बन्दसत्रमा देव गुरुङले विधानमाथि उठेका प्रश्नको जवाफ दिएपछि केन्द्रीय समितिले अन्तिम रुप दिने गरी विधान मस्यौदा पारित भएको हो । विधानअनुसार अब पार्टीको केन्द्रीय समिति ५० प्रतिशत खुला र ५० प्रतिशत पूर्ण समानुपातिक गरी मिश्रित निर्वाचन प्रणालीका माध्यमबाट चुनिनेछ । केन्द्रीय समिति २९९ सदस्यीय हुनेछ । यसअघि केन्द्रीय कमिटीले १० प्रतिशत मनोनित गर्ने भनिएकामा बढाएर १५ प्रतिशत पुर्‍याइएको छ।

महाधिवेशनले केन्द्रीय समिति, केन्द्रीय समितिले पोलिटब्युरो, स्थायी समिति र पदाधिकारी चयन गर्नेछ । पोलिटब्युरो, स्थायी समिति र पदाधिकारी समावेशी सिद्धान्तका आधारमा चयन हुनेछन् । ५० प्रतिशतको पूर्ण समानुपातिकमा दलित, मुस्लिम, थारु, मधेसी, आदिवासी जनजाति, खस आर्य, अपाङ्गता, पिछडिएको क्षेत्र, महिला र युवाको ‘क्लस्टर’ बनाइएको छ । केन्द्रीय समितिमा सबै क्लस्टर र खुलाबाट गरी ३५ प्रतिशत महिला तथा २० प्रतिशत ४० वर्षमुनिका युवाको प्रतिनिधित्व हुनेछ ।

माओवादीले बहुपदीय अवधारणा अगाडि सारेको छ । सोही अवधारणाका आधारमा नेतृत्व चयन गर्ने तयारी गरेको छ । अध्यक्षमा प्रचण्ड नै दोहोरिनुहुने पक्कापक्की छ । वरिष्ठ नेतालाई उपाध्यक्षमा समेट्न लागिएको छ । महासचिवमा नेताहरूले दाबी गर्नुभएको छ । यस्तै दुई उपमहासचिव, सचिव र कोषाध्यक्षसमेतमा विभिन्न वर्ग, क्षेत्र मिलाएर निर्वाचन गर्ने तयारी गरिएको छ ।

विधान पारित भएसँगै निर्वाचनको काम अगाडि बढाउने निर्वाचन आयोगको तयारी छ । आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठले विधान पारित भएपछि निर्वाचनको प्रक्रिया सुरु हुने जानकारी दिनुभयो । विधान पारित भएसँगै केही समयका लागि बन्दसत्र स्थगित भएको छ। अहिले पार्टीको स्थायी समिति बैठक महाधिवेशन स्थल प्रज्ञा भवनमा चलिरहेको छ ।

माओवादी महाधिवेशनमा अध्यक्ष प्रचण्डको प्रतिवेदनमाथि नेता राम कार्की र लेखनाथ न्यौपानेले फरक मत राख्नुभएको छ । दस्तावेजमाथिको छलफलमा उठेका जिज्ञासाको जवाफ दिँदै अध्यक्ष प्रचण्डले फरक मतमा उठेका विषयलाई उचित ढङ्गबाट सम्बोधन गरिने बताउनुभएको छ ।

दस्तावेजले पार्टीको क्रान्तिकारी विचार निर्माण प्रक्रिया सुरु गरेको, पार्टीलाई क्रान्तिकारी दिशामा लगेको र विचार संश्लेषणका लागि महान बहसको थालनी गरेको निष्कर्ष सुनाउँदै अध्यक्ष प्रचण्डले तीनै तहका आगामी निर्वाचनपछि पार्टीको विशेष महाधिवेशन आयोजना गरेर विचारको संश्लेषण गर्ने प्रस्ताव गर्नुभएको छ । महाधिवेशनले आजै केन्द्रीय समितिको टुङ्गो लगाउनेछ।

वरिष्ठ नेतामा ज्येष्ठ कम्युनिस्ट मञ्चको दाबी
पार्टीमा लामो समयदेखि योगदान पुर्‍याउनुभएको पुराना एवम् ज्येष्ठ नागरिकको प्रतिनिधित्वमूलक संगठन ज्येष्ठ कम्युनिष्ट मञ्चका संयोजक एन.के. शर्माले ७०, ८० वर्षदेखि निरन्तर काम गरेकालाई पार्टीको वरिष्ठ नेताको हैसियत प्रदान गर्नुपर्ने बताउनुभयो ।

‘नाम नै सिनियर कम्युनिष्ट ! म त १३ वर्षदेखि पार्टीमा लागेको, २३ वर्ष थुनछेकमा बसेको छु । ज्येष्ठ कम्युनिष्ट मञ्चलाई वरिष्ठताको हैसियत प्रदान गर्नुपर्छ’, उहाँले भन्नुभयो । यो विषय प्रतिवेदनमाभन्दा विधानमा व्यवस्था गर्नुपर्नेतर्फ ज्येष्ठ कम्युनिष्ट मञ्चको जोड रहेको पनि उहाँले बताउनुभयो ।

महाधिवेशनमा नेतृत्व चयनमा सर्वसम्मति वा निर्वाचन प्रक्रिया हुन्छ भन्ने सन्दर्भमा आकांक्षी धेरै रहेको उहाँको भनाइ छ। ‘मैले अहिलेसम्म पदका लागि झगडा गरिनँ । विद्या, बुद्धि, धन-सम्पत्ति, परिवार केही नभनी पार्टीमा लागेँ’, उहाँले भन्नुभयो, ‘अब सकेसम्म सहमति गर्ने, हारियो भने हारियो चुनाव लड्ने हो ।’ पार्टीमा लामो समय योगदान पुर्‍याएका तर पार्टी नेतृत्वमा अवसर नपाएका नेताहरुको वरिष्ठतालाई स्थापित गरिनुपर्ने उहाँको भनाइ ।

जसको नीति, उसकै नेतृत्व

आठौं महाधिवेशनमा कर्णाली प्रदेशको टोली नेताका रुपमा रहनुभएको विमला के.सी. कम्युनिष्ट पार्टीमा नेतृत्व चयनमा जसको नीति उसकै नेतृत्व रहने बताउनुहुन्छ । आठौं महाधिवेशनबाट पार्टी अध्यक्ष प्रचण्डकै नेतृत्वमा नयाँ कार्य समिति चयन हुने निश्चित भएको अधिकांश महाधिवेशन प्रनितिधिको भनाइ छ ।

यसैगरी, राजनीतिक दल सम्बन्धी अध्यादेश र संविधानले व्यवस्था गरेको समानुपातिक समावेशिताको कुरा गर्दा महिलाको प्रतिनिधित्व ५१ प्रतिशत हुनुपर्ने भनाइ राख्दै उहाँ भन्नुहुन्छ, ‘पार्टीले दलसम्बन्धी अध्यादेश पास गरिसकेको छ । त्यसमा ३३ प्रतिशत महिलाको सहभागिता छ । पार्टीले ३५ प्रतिशत महिला सहभागिता र दलितलाई विशेषाधिकारको व्यवस्था पनि गरेको छ ।’

वैचारिकसँगै सामाजिक र सांस्कृतिक रुपान्तरणमा ध्यान दिनुपर्ने विचार राख्नुहुदै उहाँले नेतृत्व चयनका लागि पनि आचारसंहिता बनाउनुपर्नेमा जोड दिनुभएको छ । ‘विचार, व्यक्तित्व र क्षमता अनुसार कम्युनिष्ट आचरण, नैतिकता र व्यवहार भएका नेता नेतृत्वमा आउनुपर्छ’, उहाँ भन्नुहुन्छ, ‘भूगोलको एउटा आधार र पार्टी सदस्यको अर्को आधार हुन्छ ।’ प्रदेशमा परेको कोटालाई समावेश गरेर दुई सय ९९ को कार्यसमिति हुने र यसले पदाधिकारी चयन गर्ने उहाँले बताउनुभयो ।

निर्वाचनका लागि तयारी अवस्था

माओवादी केन्द्रको आठौं महाधिवेशनमा निर्वाचन आयोगका संयोजक विष्णुपुकार श्रेष्ठका अनुसार सर्वसम्मति नेतृत्व चयन हुन नसके पनि निर्वाचननका लागि सबै कुरा तयारी अवस्थामा छ । चुनाव मात्रै नेतृत्व चयनको प्रक्रिया नभएको र सर्वसम्मत पनि निर्वाचनकै अर्को प्रक्रियाको रुपमा बुझ्नुपर्ने उहाँको भनाइ छ ।

‘१७ सय ४२ जना महाधिवेशन प्रतिनिधि हुनुहुन्छ । हामीसँग मतदाता नामावली, मतपत्र सबै तयार छन्’, श्रेष्ठले भन्नुभयो ।