१२ बैशाख २०८१, बुधबार

म्याद पाँचौं पटक थपिए पनि पुल निर्माण सम्पन्न भएन

Tanahu Dovan Bridge

तनहुँको दुई स्थानीय तह जोड्ने एक मोटर गुड्ने पुल निर्माण शुरु भएको लामो समय बितिसक्दा पनि पुरा हुन सकेको छैन । शुक्लागण्डकी नगरपालिका–७ दोभान र भिमाद नगरपालिका–८ भागर जोड्नलाई सेती नदीमा निर्माण थालिएको पुल पाँच पटक म्याद थप गर्दा पनि पुरा नभएको हो ।

पुल निर्माण शुरु हुँदा खुसी भएका स्थानीय वासिन्दा पुल अलपत्र हुँदा निराश भएका छन् । सङ्घीय सरकारको लगानीमा निर्माण थालिएको पुलको तेस्रो पटक थपिएको म्याद सकिएपछि फेरि म्याद थप गरिएको छ तर पुल निर्माण भने अधुरै छ । वि.सं. २०७२ साल असार ३० गते २९ असार २०७५ सम्म निर्माण सक्ने शर्तमा एडभेन्चर कन्ट्रक्सन प्रालि चितवनसँग ठेक्का सम्झौता भएको थियो । निर्धारित समयमा काम नसकिएपछि १५ चैत २०७ सम्मको म्याद थपियो । दोस्रो पटक थपिएको म्यादमा काम आधा पनि भएन । फागुन २०७७, १४ गतेसम्म फेरि तेस्रो म्याद थप भयो ।

यो अवधिमा पनि पुलको प्रगति निराशाजनक नै रहेको पाइएको छ । वि.सं. २०७८ सालको भदौ ९ गते सम्मलाई सम्मलाई चौथो पटक थपिएको म्याद सकिएको भए पनि काम भने अधुरै रहेको छ । पुल निर्माणस्थलमा तीन वटा पिल्लर मात्रै ठडिएको छ । नदी किनारमा दुई र नदीको बिचमा एउटा पिल्लर ठडिएको छ । नदीको बीच अझै अर्को पिल्लर बनाउन बाँकी छ । गएको हिउँदमा चौथो पिल्लर उठाउन जग राख्ने काम भएको थियो । नदीको बहाव बढेपछि काम रोकियो । आगामी चैत मसान्तसम्म पाँचौ पटक म्याद थप गरिएको सडक डिभिजन कार्यालय दमौलीले जनाएको छ ।

कोरोनाले प्रभावित निर्माणाधिन आयोजनालाई छ महिना म्याद थप्ने सरकारको निर्णय अनुसार चैत्र सम्मको लागि म्याद थप सडक डिभिजन कार्यालय दमौलीका प्रमुख सिनियर डिभिजन इञ्जिनियर लक्ष्मी केसीले जानकारी दिनुभयो । ‘‘चैत्र सम्ममा काम पुरा गर्ने गरी ताकेका गरिरहेकाले रोकिएको कार्य हाल भईरहेको छ ’’ केसीले भन्नुभयो । समयमै पुल निर्माण नहुँदा सेती पारी तनहुँको भिमाद नगरपालिका, शुक्लागण्डकी र स्याङजाको हरिनास गाउँपालिकाका स्थानीय प्रभावित छन् । पुल नहुँदा वर्षायामको बेला यातायात सेवा प्रभावित हुने गरेको भिमाद नगरपालिकाको भागरका प्रेमबहादुर थापाले बताउनुभयो । पुल अलपत्र हुँदा दुई पांग्रे सवारी झोलुङ्गे पुलबाट जोखिम मोलेर तार्ने गरिएको उहाँले जानकारी दिनुभयो ।

अधुरो पुल हेर्दै झोलुङ्गे पुलबाट बाईक स्कुटर तार्नुपर्छ’, थापाले भन्नुभयो सवारी चलाउने र पुल तर्ने पैदलयात्रीलाई जोखिम छ । काम समयमै पुरा गर्न पटक–पटक झक्झकाए पनि सुनवाई नभएको भिमाद नगरपालिका–८ का वडाध्यक्ष बुद्धिमान श्रेष्ठ बताउनुहुन्छ । पुल निर्माणको ढिलाईले यहाँका बस्तीलाई विकासले पछाडि परेको छ, हिउँदमा जेनतन घुमाउरै बाटो प्रयोग गरे पनि बर्खाको बेला आवतजावतमा समस्या परेको वडाध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

पुल निर्माणमा ढिलाई हुनुमा निर्माण कम्पनीसँगै सडक विभाग अन्तर्गतको पुल महाशाखाको पनि दोष देखिएको छ । भौगोलिक अवस्थाको विश्लेषण नगरिकन महाशाखाले सुरुमा ओपन फाउण्डेशनमा पुलको डिजाईन ग¥यो । पुलको दुईवटा पिल्लरको काम सकेर नदीको बीच भागमा पिल्लर राख्ने क्रममा । डिजाइन परिर्वतनमा पुल महाशाखाले ढिलाई गरेको थियो । झण्डै डेढ बर्ष पुलको डिजाईन परिवर्तनमा काम रोकिएको सडक डिभिजन दमौली नै स्विकार्छ । अहिले डिजाईन परिर्वतन गरेर पुल पायल फाउण्डेशनमा बन्दैछ ।

तर, काम भने कछुवाको गतिमा । आठ करोड ८० लाख ५० हजार ८८३ रुपियाँमा भ्याटबाहेक पुल निर्माणको ठेक्का सम्झौता भएको हो । पाँच करोड ४२ लाख चार हजार ६ सय ८६ रुपैयाँ निर्माण कम्पनीलाई भुक्तानी गरिएको छ । यो बर्षको बजेटमा सङ्घीय सरकारले पुल निर्माणका लालि एक करोड रुपियाँ बजेट विनियोजन गरेको सडक डिभिजन कार्यालयले जनाएको छ ।

शुक्लागण्डकी नगरपालिका–७ दोभान र भिमाद नगरपालिका–८ भागर जोड्नलाई सेती नदीमा निर्माणाधीन अलपत्र परेको पुल ।