१६ आश्विन २०७९, आईतवार

राजदल गण खैरहनीटार तनहुँमा कार्यरत सैनिकको मोटरसाइकल दुर्घटनामा निधन

accident

हेटौँडामा मोटरसाइकल दुर्घटना हुँदा एककाे ज्यान गएकाे छ । माेटरसाइकल दुर्घटनामा परी नेपाली सेना राजदल गण खैरहनीटार तनहुँमा कार्यरत २५ वर्षीया श्रृजना विकको निधन भएको हो ।

पूर्व–पश्चिम सडकखण्डको हेटौँडा–९ मा हेटौँडाबाट बारातर्फ जाँदै गरेको ग२२प ६१३ नम्बरको मोटरसाइकलले सोही दिशातर्फ जाँदै गरेको ना४ख ९६०३ नम्बरको ट्रकलाई ओभरटेक गर्ने क्रममा अनियन्त्रित भई ट्रकमा ठोकिएर दुर्घटना हुँदा बाइकमा सवार विक गम्भीर घाइते भएकी थिइन् ।

घाइते विकको उपचारको क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेक बहादुर कार्कीले बताए । निधन भएकी विकका श्रीमान् २९ वर्षीय आदर्श विकको भने हातमा सामान्य चोट लागेको छ ।

विककै ५ वर्षीय छोरा आशिक विकको पनि टाउकोमा सामान्य चोट लागेको छ । घाइते आदर्श र आशिकको अहिले हेटौँडा अस्पतालमा उपचार भइरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको प्रवक्ता कार्कीले बताए ।