१६ चैत्र २०८०, शुक्रबार

भूकम्पमा परी घाइते भएका सातजनालाई सेनाले गर्‍यो उद्धार

rescue people

नेपाली सेनाले डोटीको पूर्वीचौकी गाउँपालिका–३, गैरागाउँमा भूकम्पमा परी घाइते भएका सातजनालाई उद्धार गरेको छ ।

बुधबार बिहानदेखि भैरव प्रसाद गणबाट खटिएको उद्धार टोली तथा अन्य सुरक्षा निकाय र स्थानीयको सहयोगमा घाइतेहरूको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल डोटी पठाएको सेनाले जनाएको छ ।

सेनाका अनुसार घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि श्री पश्चिम एयर बेस सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टरमार्फत सेती प्रादेशिक अस्पताल धनगढी पुर्‍याइएको छ । उक्त गणबाट प्राप्त राहत सामग्रीहरु र जिल्ला रेडक्रस सोसाइटी डोटीसँग समन्वय गरी प्राप्त भएका उद्धार तथा राहत सामग्रीहरु गणबाट खटिएका टोलीले घटनास्थलसम्म पुर्‍याई वितरण गरेको सेनाले जनाएको छ।

मंगलबार मध्यराति र बुधबार बिहान गएको ६।६ रेक्टर स्केलको भूकम्पले घर भत्किँदा पूर्वीचौकी गाउँपालिका–३, गैरागाउँमा ६ जनाको मृत्यु भएको थियो ।