६ बैशाख २०८१, बिहीबार

सत्तारुढ दलको राष्ट्रिय सभाका १९ सिटमा भागवण्डा

613da8ce53f7f all party bhadua25
फाइल फोटो

आगामी राष्ट्रिय सभाको निर्वाचनका लागि सत्तारुढ नेपाली कांग्रेस आन्तरिक छलफलमा जुटेको छ । कांग्रेसले माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनको आन्तरिक रूपमा गृहकार्य गरेको हो । यही पुस २० गते उम्मेदवारी दर्ता गर्नुपर्ने भएकाले उम्मेदवार छान्न र सत्तारुढ गठबन्धनमा भागबण्डा मिलाउन कांग्रेसले तीब्रता दिएको हो ।

महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रिय सभाको उम्मेदवार विधिसम्मत रूपमा पार्टी भित्र छलफल गरेर चयन गरिने बताए । उनले भने, ‘राष्ट्रिय सभाको उम्मेदवार छान्ने विषयलाई केन्द्रीय कार्यसमिति हुँदै संसदीय बोर्डबाट टुङ्ग्याउनु पर्ने हुन्छ । हामी चाडै केन्द्रीय कार्यसमितिको बैठक बसेर विधिवत प्रक्रियाबाटै जान्छौँ ।’

यही पुस १७–१८ गते केन्द्रीय कार्यसमितिको बैठक बस्ने कांग्रेसको तयारी छ । वैधानिक व्यवस्था अनुसार कांग्रेसले राष्ट्रिय सभाका उम्मेदवार चयन गर्नेछ । त्यसका लागि केन्द्रीय कार्यसमितिले संसदीय बोर्डलाई अधिकार सुम्पिने छ । तर अहिलेसम्म कांग्रेसको संसदीय बोर्ड गठन भएको छैन । १४औँ महाधिवेशनबाट निर्वाचित भएर आएका १३ जना पदाधिकारीहरु संसदीय दलको पदेन सदस्य हुने ब्यवस्था छ । महामन्त्री शर्माका अनुसार संसदीय बोर्डको दुई वटा स्वरूप हुन्छ ।

‘एउटा पदेन हुन्छ । एउटा मनोनीत हुन्छ । पदेन १३ जना र मनोनीत ११ जना हुने व्यवस्था छ । सभापतिले केन्द्रीय कार्यसमितिका सदस्यमध्येबाटै ११ जना मनोनीत गर्न पाउनुहुन्छ,’ उनले भने । अहिले संसदीय बोर्ड बनेन भने पनि निर्वाचित १३ जना पदाधिकारीलाई नै केन्द्रीय कार्यसमितिले अधिकार प्रत्यायोजित गर्ने शर्माले बताए । विधान अनुसार केन्द्रीय समितिले सुरुमा विभिन्न प्रदेशबाट उम्मेदवार बन्न चाहने इच्छुकहरुको नाम संकलन गर्नेछ ।