१५ चैत्र २०८०, बिहीबार

देवत्वकरण किन गरिँदैछ प्रचण्डको माओवादीमा ?

61c86f1722925 prachanda photo

कम्युनिष्टहरु व्यक्ति पूजामा रमाउँछन् । यो आरोप नेपालका लोकतान्त्रिक विचार बोक्ने कम्युनिष्ट पार्टीहरुमा पनि लागू हुँदै आएको छ ।

सबैभन्दा ठूलो कम्युनिष्ट पार्टी एमालेमा ‘बा’को नाममा अध्यक्ष केपी शर्मा ओलीको पूजन नै भयो । एमाले जस्तै अर्को कम्युनिष्ट पार्टी माओवादीमा पनि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको देवत्वकरण गर्न खोजिएको छ ।

नेपालका कम्युनिष्टहरुले लोकतन्त्र माने पनि कतै न कतै नेतृत्व नै प्रधान मान्ने उनीहरुको व्यवहारले देखाउने गरेको छ । नेपालको ठूलो कम्युनिष्ट पार्टी एमालेमा केपी बा का नाममा अध्यक्ष ओलीको पूजन हुँदै आएको छ । चितवनमा भएको एमालेको १० दशौं महाधिवेशनमा टाँसिएका व्यानर, पोष्टरहरु ओली मय बनाइएका थिए । यसको चौतर्फी आलोचना भएको थियो ।

आलोचना गर्ने मध्ये एक हुनुहुन्थ्यो, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पनि । तर, अफसोच माओवादीले आइतबारबाट शुरु गरेको आठौं महाधिवेशन पनि व्यक्तिपूजा भन्दा बाहिर जान सकेन ।

कम्तिमा एमालेमा ओली विरुद्ध भीम रावलको उम्मेदवारी पर्यो । तर, माओवादीमा त प्रचण्ड निर्विकल्प भन्दै नेताहरुले चाकडीको होड नै चलाए । महाधिवेशनस्थल प्रज्ञा भवन आसापास टाँगिएका फोटो, व्यानरहरु प्रचण्डमय छन् । त्यति मात्र होइन, एकापट्टि हसियाँ हथौडा र अर्कोपट्टि प्रचण्डको बडेमानको फोटो राखिएको बेलुनले व्यक्ति पूजालाई स्थापित गर्दिएको छ ।

पहिलो दिन महाधिवेशनमा सहभागी प्रतिनिधिहरुलाई प्रचण्डका स्ट्याचुसँग फोटो खिच्न भ्याईनभ्याई थियो । दोस्रो दिन प्रचण्डको स्ट्याचु रातारात हटाइयो । उनिहरु ब्यानरमा टासिएको प्रचण्डको फोटो आउनेगरी फोटो खिच्न ब्यस्त देखिन्छन । उनी कार्यकर्ताका निम्ति दुर्लभजस्तै लाग्छन् ।

कम्युनिस्टहरुमा नेतृत्वलाई पूजा गर्ने प्रचलन छ भन्ने मानसिकता बनाइसकेको अवस्थामा अरु पार्टीको नक्कल नगरेको उनीहरु दाबी गर्छन् ।

प्रचण्डले नेतृत्व गरेको पार्टी ३४ वर्ष र माओवादी नामकै पार्टी २६ वर्षको भइसक्दा पनि प्रचण्डको विकल्प केबल प्रचण्ड देखिएका छन् । यही भावना कहिले नारा बनेर त कहिले पोष्टर बनेर सतहमा आउँछन् । नितिलाई स्थापित गर्न तर देवत्वकरण गर्न नखोजिएको कतिपयको तर्क छ ।

कम्युनिस्ट पार्टीका लागि व्यक्तिको देवत्वकरण र भक्तिभाव गाउनु नौलो नहुन सक्छ । तर, लोकतन्त्रलाई आत्मसाथ गरेका नेपालका कम्युनिष्टहरुले व्यक्ति पूजालाई प्रश्रय दिनुले उनीहरुले आफूले अबलम्बन गरेका नीतिकै उपहास गरिरहेका छन् ।