१४ बैशाख २०८१, शुक्रबार

गुल्मीमा सम्बन्ध विच्छेदका मुद्दा यसरी बढ्दै ?

divorce

महिला सरह पुरुष पनि सम्बन्ध विच्छेदका लागि सिँधै अदालत जान पाउने कानूनी व्यवस्था भएपछि गुल्मीमा सम्बन्ध विच्छेदका मुद्दा बढ्न थालेका छन् ।

अदालतमा चालु आर्थिक वर्षको ५ महिनाको अवधिमा सम्बन्ध विच्छेदका मुद्दा मात्रै ४२ प्रतिशत परेका छन् । जसले गर्दा गुल्मीमा सम्बन्ध विच्छेदको अवस्था विकाराल बन्दै गएको देखिएको छ ।

जिल्ला अदालत गुल्मीमा चालु आर्थिक वर्षको ५ महिनामा ३ सय ९० वटा मुद्दा दर्ता भएका छन् । यीमध्ये १ सय ३४ वटा अर्थात ४२ प्रतिशत मुद्दा सम्बन्ध बिच्छेदका छन् । सम्बन्ध विच्छेदका मुद्दा दर्ता गर्ने उमेर समूहमा २० देखि ३० वर्षसम्मका धेरै रहेको जिल्ला अदालत गुल्मीले जनाएको छ ।

सम्बन्ध विच्छेदका मुद्दा बढ्नुमा विशेषतः आपसी समझदारी तथा बुझाइमा कमी हुनु, वैदेशिक रोजगारी, कम उमेरमा विवाह गर्नु, पति पत्नीमा जिम्मेवारी वा उत्तरदायित्व बोध नहुनु मुख्य कारण हुन्।

महिलाहरुलाई मात्रै नभइ पुरुषले पनि सम्बन्ध विच्छेदका मुद्दा दर्ता गर्न पाउने भएका कारण सम्बन्ध विच्छेदका मुद्दा बढेको कानून व्यवसायीको तर्क छ ।