१६ चैत्र २०८०, शुक्रबार

प्रदेश सरकारले सबै अपेक्षा पुरा गर्न सकेको छैन: मुख्यमन्त्री पोखरेल

krishna chandra nepali 1024x573 1

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेश सरकारले सबै जनअपेक्षा पुरा गर्न नसकेको बताउनुभएको छ ।

पर्वतको कुश्मामा आज डिल्लीराम स्मृति भवनको शिलान्यास गर्दै मुख्यमन्त्री पोखरेलले बजेट थोरै र आवश्यकता धेरै भएकाले प्रदेश सरकारले अपेक्षा अनुसार काम गर्न नसकेको बताउनुभयो ।

मुख्यमन्त्री पोखरेलले अघिल्लो सरकारले थालेका बहु वर्षे विकासका योजनाहरूलाई निरन्तरता दिनुपर्ने र नयाँ कार्यक्रम पनि थप गर्नुपर्दा कतिपय योजनाहरू कटौती गर्नुपर्ने बाध्यतामा परेको उल्लेख गर्नुभयो ।

निकै कठिन परिस्थितिमा प्रदेशको मुख्यमन्त्री समाल्न आइपुगेको बताउँदै उहाँले चुनौतीका बिचमा पनि केही स्मरणयोग्य र देखिने काम गरेको दाबी गर्नुभयो । उहाँले पर्यटकीय राजधानीका रुपमा परिचित गण्डकीका हरेक जिल्लालाई पर्यटकीय पूर्वाधारले सुशोभित गराउन सरकार तयार रहेको र सम्बद्ध पक्षहरूसँग हातेमालो गरेर अघि बढ्ने बताउनुभयो ।

प्रदेश सरकारका विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले विकास निर्माणमा सबै राजनीतिक दलहरूबिच हातेमालो गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा मन्त्री दोबाटे विश्वकर्माले सरकारले जनताका अपेक्षा बुझेर काम गर्दै आएको र देशको स्वधानिता जोगाउन प्रतिबद्ध रहेको बताउनुभयो ।