७ बैशाख २०८१, शुक्रबार

गणतन्त्रको विकल्प छैन : उपेन्द्र यादव

61c85256e0a5d uprendra yadhav

जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवे नेपालमा गणतन्त्रको विकल्प नरहेको बताउनुभएको छ ।

आइतबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवेशन उद्घाटन समारोहको सफलताको शुभकामना व्यक्त गर्दै अध्यक्ष यादवले यस्तो बताउनुभएको हो ।

‘संघीय लोकतान्त्रिक गणतन्त्र र विभेदरहित गणतन्त्र नै अबको विकल्प हो’, अध्यक्ष यादवले भन्नुभयो, ‘संघीय लोकतान्त्रिक गणतन्त्र धरापमा परे फेरि कयौँ वर्ष हामी यसका लागि लड्नुपर्छ । त्यसलाई रोक्न संविधान संशोधन, गणतन्त्रको रक्षा र समाजवादको मार्गतर्फ यो महाधिवेशन अगाडि बढोस् ।’

अध्यक्ष यादवले माओवादी र मधेस विद्रोह नभएको भए गणतन्त्र स्थापना हुनै नसक्ने कुराको सम्झनासमेत गर्नुभएको छ । ‘माओवादी विद्रोह र मधेस विद्रोह नभएको भए यो मुलुकमा गणतन्त्र स्थापना हुने थिएन’, अध्यक्ष यादवले भन्नुभयो, ‘संघीयता पनि हुने थिएन । यो मुलुक संवैधानिक राजतन्त्रमा रुमलिएर बस्ने थियो होला ।’

गणतन्त्र र संघीयता आए पनि जनजीवीकाका सवाल ओझेलमा परेको भन्दै उहाँले माओवादीलाई यसको पक्षमा बोल्न आग्रह गर्नुभएको छ ।

उत्पीडित वर्गको पहिचानको सम्बोधन गर्न माओवादीको महाधिवेशनले ठोस कदम चालोस् भन्ने कामनासमेत उहाँले गर्नुभएको छ । अध्यक्ष यादवले संघीयता, समावेसिता, धर्मनिरपेक्षता र गणतन्त्र जस्ता महत्वपूर्ण उपलब्धिहरु कतैकतै धरापमा पर्ने हो कि भन्ने आशंका उत्पन्न हुन थालेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ ।

‘अहिले गठबन्धनको सरकार छ । प्रधानमन्त्री यही हुनुहुन्छ । हामी यही छौँ । गठबन्धनको महत्वपूर्ण अंग माओवादीको महाधिवेशनले विगतका प्रधानमन्त्रीले गरेका गल्तीलाई सच्याउनुपर्छ’, अध्यक्ष यादवले भन्नुभयो ।

संविधान जारी हुँदा देशका आधा भन्दा बढी भूभागका मानिसले कालो दिवस मनाएको सम्झना गर्दै उहाँले कालो दिवस मनाएका जनताको पक्षमा रुपान्तरित गर्न संविधान संशोधन र परिमार्जन अत्यन्त महत्वपूर्ण कार्य भएको उल्लेख गर्नुभएको छ ।