११ बैशाख २०८१, मंगलवार

विश्व कम्युनिष्ट आन्दोलनको माओवादी अंग हो : मातृका यादव

61c85f39a9b41 matrika yadhav

नेकपा (माओवादी केन्द्र)का नेता मातृका यादवले माओवादी आन्दोलन विश्व कम्युनिष्ट आन्दोलनको अंग भएको दाबी गर्नुभएको छ ।

आइतबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता यादवले यस्तो बताउनुभएको हो । ‘हाम्रो माओवादी आन्दोलन नेपालको मात्र होइन’, यादवले भन्नुभयो, ‘विश्व कम्युनिस्ट आन्दोलनको अंग र समग्र क्रान्तिको अंग हो ।’

उहाँले अहिले पनि माओवादीमाथि प्रश्न उठेको भन्दै महाधिवेशनले त्यसको जवाफ दिनुपर्ने उल्लेख गर्नुभयो । ‘आम जनतामा माओवादी पार्टीबाट प्रश्न उठेको छ । यी सबै प्रश्नको जवाफ दिन हामी यहाँ (महाधिवेशनमा) जम्मा भएका छौँ’, यादवले भन्नुभयो ।

यादवले प्रचण्डको उदारवादले मधेस आन्दोलन भएको बताउनुभएको छ । ‘कमरेड प्रचण्ड थोरै उदार नभइदिएको भए, गिरिजाबाबु र माधव नेपालजीसँग प्रष्ट अडान लिएर संघीयता बिनाको संविधान मान्दैनौँ भनेको भए मधेस आन्दोलन हुने थिएन’, उहाँले भन्नुभयो ।

उहाँले प्रचण्डपथ विकास गर्नुपर्ने समयमा छोडेको भन्दै आपत्ति व्यक्त गर्नुभएको छ । ‘माओवादी जनयुद्धले विकास गरेको प्रचण्डपथलाई विकास गर्नुको साटो हामीले छोडिदियौँ । क्रान्ति रणभुल्लमा पर्यो । कमरेड प्रचण्डले के गरेको हो ? आम जनताले प्रश्न गर्न थाले । मैले पनि प्रश्न गरेँ’, यादवले प्रश्न गर्दै भन्नुभयो, ‘यसले गर्दा सबै हिंड्नुभयो । हाम्रो हविगत के भयो ?’