१५ बैशाख २०८१, शनिबार

अघोषित इजलास बहिस्कार जारी सर्वोच्च अदालतमा, इजलास नबसेपछि मुद्दाको सुनुवाइ प्रभावित

suprem court

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले निकास दिनुपर्ने भन्दै सर्वोच्चका न्यायाधीशहरूले अघोषित रुपमा इजलास बहिस्कारलाई जारी राखेका कारण आज पनि मुद्दाको सुनुवाइ प्रभावित भएको छ ।

न्यायाधीशहरुले इजलास बहिस्कार जारी राखेका कारण आज दुई वटा इजलासबाहेक अन्य कुनै पनि इजलासमा मुद्दाको सुनुवाइ हुन सकेन ।

आज नौ वटा इजलासमा पेशी तोकिएका १ सय ७७ मुद्दामध्ये दुई वटा एकल इजलासमा एक÷एक गरी दुई वटा बन्दी प्रत्यक्षीकरण मुद्दामा मात्र सुनुवाइ भयो ।

सर्वोच्चका न्यायाधीशहरुले प्रधानन्यायाधीश इजलासबाट अलग भए बन्दी प्रत्यक्षीकरण मुद्दा मात्र सुनुवाइ गर्ने अडान राख्दै आएका छन् ।

प्रधानन्यायाधीश जबराले सत्तामा भाग खोजेर न्यायिक विचलन निम्त्याएको भन्दै न्यायाधीशहरू र नेपाल बार एसोसिएसन आन्दोलनमा छन् ।

यसैवीच प्रधानन्यायाधीशको राजीनामा माग गर्दै विरोधका कार्यक्रम जारी राखेको नेपाल बार एशोसिएशनले शुक्रवारदेखि प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरालाई अदालत प्रवेशमा रोक लगाउने घोषणा गरेको छ ।

यस्तै, नेपाल बारले भोलिदेखि सर्वोच्च अदालतको कुनै पनि इजलासमा बहस नगर्ने र बेन्च बहिसकार गर्ने जनाएको छ ।

यसैगरी, प्रधानन्यायाधीश जबराले तोकेको इजलासमा नबस्न न्यायाधीशहरुलाई अनुरोध समेत गरेको छ ।

बारले आज गरेको विरोध कार्यक्रममा प्रहरीले हस्तक्षेप गर्दा महासचिव लिलामणि पौडेल, उपाध्यक्ष रक्षा बस्याल लगायत ५ जना घाइते भएको उपाध्यक्ष मानबहादुर रुम्दालीले जानकारी दिनुभयो ।

प्रधानन्यायाधीशले सहकर्मी न्यायाधीश र कानुन व्यवसायीको विश्वास गुमाइसकेको भन्दै नेपाल बारले प्रधानन्यायाधीश जबराको राजीनामा नआउन्जेल आन्दोलनका कार्यक्रमहरू जारी राख्ने जनाएको छ ।