१२ बैशाख २०८१, बुधबार

आफूहरु चुनावसम्मै मिलेर जाने सत्ता गठबन्धनका नेताहरुको अभिव्यक्तिले उब्जाएको प्रश्न

gathabandhan meeting

सत्तारुढ गठबन्धनका नेताहरु सबैजसो कार्यक्रममा आफूहरु चुनावसम्मै मिलेर जाने अभिव्यक्ति दिन व्यस्त देखिन्छन् । कुनै प्रसंग र सन्दर्भबिना सत्ता गठबन्धनका नेताहरु भने आफूहरु चुनावसम्मै मिलेर जाने अभिव्यक्ति दिइरहँदा, उनीहरु किन मिलेर जाने, साँच्चै मिल्ने होलान् कि कुनै गल्तीको ढाकछोप गर्न खोजेका हुन् भन्ने प्रश्नहरु उठेका छन् ।

बेलायतमा जलवायु परिवर्तन सम्बन्धी सम्मेलनमा सहभागी भएर फर्किने वित्तिकै प्रधानमन्त्री शेरबहादुर देउवाले ५ दलीय गठबन्धन चुनावसम्मै जाने उद्घोष गर्नुभयो । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्ना हरेकजसो मन्तव्यमा ५ दलीय सत्ता गठबन्धन चुनावसम्मै जाने बताउँदै आउनु भएको छ ।

गठबन्धनको अर्को शक्तिशाली दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पनि यो गठबन्धन चुनावसम्मै जाने भन्दै आउनुभएको छ । जनता समाजवादी पार्टीका नेताहरु पनि बेला बेला गठबन्धन चुनावसम्मै रहने भविस्यवाणी गर्दै आएका छन् ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको विवाद मिलाउन नसकेपछि प्रतिनिधिसभा विघटन गरेरै भए पनि केही समय सत्तामा रहने एक्का दाउ हानेपछि बनेको गठबन्धन अहिले चुनावको हाउगुजीले भयभित देखिन्छ । यतिबेला गठबन्धनको मुख्य दल नेपाली कांग्रेस पार्टीको महाधिवेशन गर्न नसकेर पार्टीभित्र र बाहिरबाट आलोचनाको तारो बनिरहेको छ ।

नेकपा माओवादी केन्द्र पार्टीको महाधिवेशन गर्ने तयारीमै जुटिरहेको छ । माधवकुमार नेपाल नेतृत्वको समाजवादी पार्टी नेताहरु टिकाइराख्न कस्तो जाल फ्याँक्ने भन्ने अन्योलमा रुमलिएको छ । यस्तो बेला जनताको अगाडि उभिएर ‘गठबन्धन चुनावसम्म’ भन्ने रटानले आमरुपमा नमच्चिने पीङको सय झड्का हो कि भन्ने शंका उब्जिन थालेको छ ।

दुई तिहाईको सरकार टिकाउन नसकेर सडकमा र पार्टी सम्हाल्न नसकेर नेतृत्व नै सर्वसम्मतिमा चयन गर्न जुटेका एमाले अध्यक्ष ओली ढुक्कसँग चुनावी फुर्ति मारिरहँदा सत्तारुढ गठबन्धनका नेताहरु चुनावसम्मै ५ दल एक ठाउँमा हुन्छौँ भन्दै बचाउमा निस्किरहनु परेको छ ।

सर्वाधिक चासोको विषय बनेको अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसीका विषयमा गठबन्धनका ५ पार्टी नै पाँचतिर मुख फर्खाएर बसिरहेको अवस्था छ । मुखमा रामराम बगलीमा छुरा बोकेर हिँडेका नेताहरु गठबन्धनको चुनावी गन्तव्यको रटानमै आफूलाई समर्पण गरिरहेका छन् ।

गठबन्धन सरकार बनेयता प्राकृतिक प्रकोपजन्य घटना, एमसीसी र पछिल्लो समय न्यायालयमा देखिएको विवादका विषयमा गठबन्धन सर्वथा असफल देखिइरहेको अवस्था छ । आम चासोसँग जोडिएको विषयमा स्पष्ट कार्ययोजना बनाएर अघि बढ्नुपर्नेमा कामकुरो एकातिर, भाषणबाजी कतातिर ?

बारम्बार चुनावी गन्तव्यको नारा दिने सत्तारुढ दलहरु कतै गठबन्धनमा चिरा परिसकेको कुरा ढाकछोपका लागि यस्तो लेप लगाइरहेका त होइनन् ? नत्र नागरिकसँग दोहोरो संवाद र समस्याहरुको सम्बोधनमा कुनै पनि भूमिका निर्वाह नगर्ने नेताहरु किन सिद्धान्त नै नमिल्ने पार्टीसँग मिलेर चुनावसम्म सँगै जान्छौँ भन्ने रटान लगाइरहेका छन् ?

चुनावसम्म सँगै जाने भए कुन विचार लिएर जाने ? कुन सिद्धान्त र दर्शन लिएर कांग्रेसले माओवादीलाई, माओवादीले समाजवादीलाई, समाजवादीले कांग्रेसलाई भोट मागिदिने ? ओलीले चालेको असंवैधानिक कदमविरुद्ध एक भएको कुरालाई सामान्य मान्न सकिएला तर असामान्य रुपमा चुनावसम्मै किन एकै ठाउँमा बस्नु पर्ने ? प्रसस्त प्रश्नहरु उब्जिएका छन् ।