१७ बैशाख २०८१, सोमबार

पूर्व–पश्चिम राजमार्गमा बस र ट्रक एकआपसमा ठोक्किँदा तीन जनाको निधन, २४ घाइते

gaidakot acc 2

पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा भएको सवारी दुर्घटनामा तीन जनाको निधन भएको छ भने २४ घाइते भएका छन् ।

बस र ट्रक एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो । काँकडभिट्टाबाट महेन्द्रनगरका लागि छुटेको सुप्र०२–००१ नंको यात्रुबाहक बस र ना६ख ७१२६ नंको ट्रक नवलपुरको गैँडाकोट–१०, २३ स्मृति पुल नजिक एकआपसमा आज विहान ठोक्किएको थियो ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्व नवलपुरका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीका अनुसार बस सडकबाट १० मिटर तल खस्दा सवार तीन जनाको घटनास्थलमै निधन भएको हो । मृतकको अझै पहिचान खुलेको छैन । निधन हुनेमा दुई महिला र एक पुरुष रहेको उहाँले बताउनुभयो ।

बसमा चालकसहित २६ जना सवार रहेको बताइएको छ । तीमध्ये तीन जना घाइतेको अवस्था गम्भीर छ । ट्रकका चालकसमेत घाइते भएका छन् । घाइतेको नयाँ मेडिकल कलेज भरतपुर चितवनमा उपचार भइरहेको प्रनाउ गिरीले बताउनुभयो ।