१४ बैशाख २०८१, शुक्रबार

दूधपाटी सडक घटना निधन भएकाको पहिचान खुल्यो

294613048 753975505812049 3572125041790441027 n

भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित चोङ्गा गणेश सल्लाघारी दूधपाटी सडक छेउको सल्लाको रूख ढलेर बस र स्कुटर किच्दा निधन भएका तीनजनाको पहिचान खुलेको छ ।

दिउँसो काठमाडौँबाट यात्रु बोकेर दूधपाटी हुँदै कमलविनायक जाँदै गरेको बा२ख ३५८४ नंको बस र दूधपाटीबाट सल्लाघारीतर्फ जाँदै गरेको बा६१प ३९७८ नंको स्कुटरलाई ढलेको रूखले किच्दा बसमा सवार दुई तथा स्कुटरमा सवार एकजनाको निधन भएको थियो ।

मृत्यु हुनेमा बसमा सवार भक्तपुर नगरपालिका–२ व्यासीका २५ वर्षीय विशेष खर्बुजा, चाँगुनारायण नगरपालिका–२ का ५५ वर्षीय न्हुच्छेराम बखाद्यो र स्कुटरमा सवार सर्लाहीको हरिवन नगरपालिका–४ का ४५ वर्षीय राजकुमार भुजेल रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिनुभयो ।

दुर्घटनामा घाइते हुनेहरुमा भक्तपुर–१० कमलविनायकका १९ वर्षीय रितिक वासुकला, चानपा–४ चाँगुका १८ वर्षीया निशा लिगल, काठमाडौं–१०, बुद्धनगरका ६८ वर्षीय पदमप्रसाद योजु, रामेछापको दोरम्वा गापा–७ घर भई हाल सूर्यविनायक नपा–८ सिपाडोल बस्ने बस चालक २२ वर्षीय हुमबहादुर मगर, सर्लाही घर भई हाल सूर्यविनायक बस्ने १६ वर्षीय आकाश वाइवा र भक्तपुर नपा–७ का १८ वर्षीय सिम्रन लागेजु छन् । उनीहरुको इवामुरा अस्पताल सल्लाघारीमा उपचार भइरहेको छ ।

त्यसैगरी उदयपुरको लिचुङ्गु गापा–१ भई हाल काठमाडौंको स्वयम्भु बस्ने ४१ वर्षीय नीलबहादुर राई, पर्वतको जलजला गापा–७ घर भई हाल काठमाडौंको शङ्खमूल बस्ने १९ वर्षीय समीर आचार्य, पाँचथरको याङ्गवरक गापा–३ घर भई हाल भक्तपुरको सल्लाघारी बस्ने १२ वर्षीया समृद्धि लिम्बू, पाँचथरको याङ्गवरक गापा–३ घर भई हाल भक्तपुर सल्लाघारी बस्ने १८ वर्षीया अप्सरा लिम्बू, पर्वतको फलेवास नपा–२ घर भई हाल काठमाडाँैको वानेश्वर बस्ने १९ वर्षीय सागर शर्मा र भक्तपुर–८ जेलाकी ४८ वर्षीया लक्ष्मी दुवालसमेत घाइते भएका छन् । उनीहरुको भक्तपुर इन्टरनेशनल अस्पताल कौशल्टारमा उपचार भइरहेको छ ।

यसैबीच गृहमन्त्री बालकृष्ण खाँडले घाइतेको उपचारको व्यवस्था तत्काल मिलाउन निर्देशन दिनुभएको छ । मन्त्रीको निर्देशनपछि भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक शिवकुमार श्रेष्ठलगायत टोलीले अस्पतालमा उपचार गराइरहेका घाइतेलाई भेटेर उनीहरुको अवस्थाबारे जानकारी लिनुभएको छ ।

यस्तै प्रतिनिधि सभाको विशेष समयमा सांसदहरुले भक्तपुरको सल्लाघारीमा भएको दुर्घटनाप्रति सरकारको ध्यानाकर्षण गराएका छन् ।

सांसद प्रेम सुवालले भक्तपुरको सल्लाघारीमा तीन जनाको ज्यान जाने गरी बस तथा स्कुटरमाथि रुख ढलेको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराएका हुन ।

उनले उक्त दुर्घटनामा निधन भएका परिवारलाई उचित राहत दिन र घाइतेको निःशुल्क उपचारको व्यवस्था मिलाउन सरकारसँग आग्रह गरे ।

सांसद महेश बस्नेतल भक्तपुर दुर्घटनाप्रति सदनको ध्यानाकर्षण गराउदै पुराना बस हटाउन पनि अनुरोध गरे । उनले यस्ता घटना अन्य क्षेत्रमा पनि हुन सक्ने भन्दै त्यसतर्फ ध्यान दिन आग्रह गरे ।

294628953 753975439145389 4934533882916702734 n
294613048 753975505812049 3572125041790441027 n