२२ मंसिर २०७८, बुधबार

जनताको सेवा गर्छु भनेर निर्वाचित जनप्रतिनिधिले नै घूस मागेपछि …

bribe ghush karmachari
सांकेतिक तस्विर

जनताको सेवा गर्छु भनेर निर्वाचित भएर आएको जनप्रतिनिधिले मतदातासँग घूस माग्छ भन्ने विषय सामान्य रूपमा अनुमान गरिँदैन । जनताका लागि जनताबाट निर्वाचित जनप्रतिनिधि सदैव जनताप्रति नै उत्तरदायी हुन्छ तर जनताका लागि काम गर्छु भनेर निर्वाचित भएका जनप्रतिनिधिले नै घूस मागे भन्ने सुन्दा उनीहरूलाई कस्तो लाग्ला ? यस्तै अनुमान नै गर्न नसकिने घटना घटेको छ । त्यो पनि राजधानी काठमाडौँमा नै ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँ महानगरपालिका–१४ का वडा सदस्य वसन्त महर्जनलाई रु दुई लाख घूस लिँदै गरेको अवस्थामा पक्राउ गरेको छ । आयोगका प्रवक्ता नारायणप्रसाद रिसालका अनुसार वडा सदस्य महर्जनले जग्गाको मोहियानी हक नामसारी र नाता प्रमाणित गरी मोही प्रमाणपत्र र मालपोत तथा भूमि व्यवस्था कार्यालय काठमाडौँलाई सिफारिस गर्दा घूस मागेका थिए ।

वडासदस्यले नै घूस मागेको भन्ने सूचनाका आधारमा पुगेको आयोगको टोलीले कामनपा–१४ कलङ्की खसीबजारस्थित न्यू कान्तिपुर तन्दुरी भोजनालयबाट पक्राउ गरेको हो । आरोपी वडासदस्यको थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।