१५ चैत्र २०८०, बिहीबार

सोचे जस्तो सुधार भएन कलाकार निशाको स्वास्थ्य अवस्था

norvic hos nisa

मोडल तथा कलाकार निशा घिमिरेको स्वास्थ्य अवस्थामा अपेक्षित सुधार आउन नसकेको नर्भिक अस्पतालले जनाएको छ । आज एक पत्रकार सम्मेलनमार्फत मोडल अधिकारीको स्वास्थ्य अवस्थाको विषयमा जानकारी दिँदै अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले अझै पनि अक्सिजनसहित सिसीयूमा राखेर उपचार भैरहेकाे बताउनुभएकाे छ ।

‘उद्धार गरेको केही दिनसम्म घिमिरेको स्वास्थ्यमा सुधार हुने लक्षणहरु देखापरेका थिए । उहाँको उपचारमा लगातार नेपाल र नर्भिकमा उपलब्ध सबैखालका प्रविधि, सीप तथा विधिको प्रयोग गरिसकिएको छ ।’ अस्पतालले जारी गरेको विज्ञप्तिमा भनिएको छ–‘तर पनि उहाँको स्वास्थ्य अवस्थामा खासै सुधार देखिएको छैन । तीन महिनापछि पनि कलाकार घिमिरेको स्वास्थ्य अवस्था स्थिर नै रहेको छ ।’

नर्भिकका प्रबन्ध सञ्चालक मेघा चौधरीले घिमिरेको जेठ २७ गते केही समाजसेवीको सहयोग लिएर उद्धार गरेकाे थियाे ।

हालसम्म नर्भिकमा घिमिरेको उपचारमा लागेको सम्पूर्ण खर्च प्रबन्ध संचालक मेघा चौधरी र अस्पतालले प्रायोजन गर्दै आएको छ । अस्पतालका अनुसार हालसम्म निशाको उपचारमा ५० लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको छ ।