१५ चैत्र २०८०, बिहीबार

आज मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी, सत्ता गठबन्धनको बैठक सुरु

satta gathaban 1 68

पदको बाँडफाँट गरी मन्त्रिपरिषद्लाई पूर्णता दिन पाँच दलीय सत्ता गठबन्धनको बैठक आज पनि बस्ने भएको छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेको ४० दिनसम्म पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन ।

आज सहमति गरेर भोली मन्त्रिपरिषद् विस्तार गर्ने तयारी छ । प्रधानमन्त्री भएको ५० दिनपछि मन्त्रिपरिषदलाई पूर्णता दिन सत्तारुढ दलहरु छलफलमा जुटिरहेका छन् । आज बस्ने बैठकले पाँच दलबीच बाँकी मन्त्रालयको भागबण्डा गरेर सहमति जुटाउने तयारी गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

आज सबै मन्त्रालयमा भागबण्डा मिलाएर भोलि मन्त्रिपरिषद् विस्तार गर्ने गरी आज शीर्ष नेताहरुबीच छलफलको तयारी भएको हो। सरकार विस्तारबारे सहमति जुटाउन आइतवार र सोमबार सत्तारुढ दलका शीर्ष नेताहरुले छलफल गरेका थिए। तर सत्ता साझेदार सबैले आफ्नो अडान नछाडेपछि सहमति हुन सकेको छैन ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आजसम्म मन्त्रालयको भागबण्डा टुंगो लगाएर मन्त्री छान्ने बताइसक्नु भएको छ । तर कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीका तीन शीर्ष नेताबीच कांग्रेसले आठ मन्त्रालय, माओवादीले सात, एकीकृत समाजवादीले पाँच र जसपाले चारवटा मन्त्रालय लिने प्रस्ताव गरिएको छ ।

साथै एकीकृत समाजवादी र जसपालाई दुई–दुईवटा मन्त्रालय रोज्न दिइने र त्यसबाहेक आवश्यकताअनुसार मन्त्रालय बाँडफाँड गर्नेबारे तीन नेताबीच छलफल भएको छ । अन्तिम सहमति भने आजको बैठकमार्फत खोजिनेछ ।

माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले ६६ मन्त्रालय दाबी गरेका छन् । असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले ५० दिन भइसक्दा पनि सरकार विस्तार गर्न नसक्दा चर्को आलोचना खेपिरहनु भएको छ ।

सत्तारूढ गठबन्धनका नेताहरूको बैठक सुरु भएको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा भर्खरै बैठक सुरु भएको बताइएको छ ।

बैठकमा मन्त्रिपरिषद्लाई पूर्णता, मन्त्रालय भागबन्डालगायत विषयमा छलफल हुनेछ । आज मन्त्रालयको भागबन्डा टुंग्याउने सत्तारूढ दलहरूको तयारी छ । यसअघि, सोमबार बिहान बालुवाटारमै बसेको सत्तारूढ दलका शीर्ष नेताको बैठकमा मन्त्रिपरिषद्लाई छिट्टै पूर्णता दिने सहमति भएको बताइएको थियो ।