१२ बैशाख २०८१, बुधबार

तुइन प्रकरण : पन्छिदै छानविन समिति, परिवारले न्याय पाउनेमा आशंका

Tueen Darchula

भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले ‘तुइन खुस्काइदिएपछि’ महाकाली नदीमा खसेर नेपाली युवा बेपत्ता भएको घटनास्थल भारतीय भूमिमा भएको र अनुसन्धानका लागि सबुत प्रमाण फेला नपरेको भन्दै छानबिन समिति पन्छिएको छ ।

गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा गठित समितिले एक महिना लगाएर गरेको छानबिनमा ‘घटनास्थल भारतीय भूमि गस्कु भएकाले उक्त घटनाको नेपालतर्फबाट औपचारिक अनुसन्धान गर्न कानुनी जटिलता रहेको’ निष्कर्ष निकालेको हो ।

सरकारी उच्च स्रोतका अनुसार यही निष्कर्षका साथ प्रतिवेदन लेखनलाई अन्तिम रूप दिएर गृहमन्त्री बालकृष्ण खाँणलाई बुझाउने तयारीमा समिति छ । त्यसकै लागि सोमबार दिनभरि समितिका संयोजक र सदस्यहरूले गृह मन्त्रालयमा छलफल गरेका थिए तर प्रतिवेदन लेखनलाई अन्तिम रूप दिन नसकिएको भन्दै अझै ३ दिन समय बढाउन प्रस्ताव आएको स्रोतले कान्तिपुरलाई बतायो ।

सोमबार सार्वजनिक बिदा भएका कारण मंगलबार चौथो पटक बढीमा तीन दिन समय तोकेर म्याद थप गर्न लागिएको र यस पटक थपिएको समयभित्रै प्रतिवेदन बुझाइसक्न निर्देशन दिइएको छ ।

कान्तिपुर दैनिकमा प्रकाशित समाचार अनुसार लाखौं रुपैयाँ खर्च हुने गरी भएको सरकारी छानबिन समितिको यो निचोडसँगै ‘एसएसबीका जवानले तुइनको लट्ठा खुस्काइदिएपछि’ नदीमा खसेर बेपत्ता भएका ३३ वर्षीय जयसिंह धामीका परिवारले न्याय पाउने र अपराधमा संलग्न व्यक्तिलाई कारबाहीको दायरामा ल्याउने सम्भावना कमजोर बनेको हो ।