१३ बैशाख २०८१, बिहीबार

दार्चुलाकाे महाकाली नदीमा नेपाल–भारत जोड्ने मोटरेवल पुल शिलान्यास

mahakali

दार्चुलामा आज महाकाली नदीमा मोटरेवल पक्की पुलको शिलान्यास गरिएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू र भारतको उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले एकसाथ पुलको शिलान्यास गर्नुभएको छ ।

पुल शिलान्यासपछि आयोजित कार्यक्रममा मन्त्री बडूले नेपाल–भारत जोड्ने मोटरेवल पुलले विकासको ढोका खोल्ने बताउनुभयो ।

भारत र चीनसँग व्यापार वृद्धिका लागि महाकालीमा पक्की पुल आवश्यक रहेको बताउँदै बडूले पुल बनेपछि बैतडी, बझाङलगायतका पहाडी जिल्लाका नागरिकलाई आवागमन सहज हुने जानकारी दिनुभयो ।

“व्यापारिक एवं नागरिकलाई सहज आवागमनका लागि पनि पुल आवश्यक थियो”, उहाँले भन्नुभयो, “अब यहाँका नागरिकले भारत जान गड्डाचौकी र गौरीफन्टा जानुपर्ने अवस्था रहँदैन ।”

उहाँले दार्चुलावासीले अब ढुवानीलगायतका समस्याबाट मुक्ति पाउने बताउनुभयो । पुलले दुई देशबीच धार्मिक, सामाजिक, सम्बन्ध मजबुत हुने धारणा राख्नुभयो ।

दार्चुलामा पहिलो पटक महाकाली नदीमा पक्की पुल बन्ने खबरले स्थानीय बासिन्दा खुशी भएका छन् । भारत सरकारको सहयोगमा बन्ने पुलको लम्बाइ एक सय १० मिटर हुनेछ ।