७ बैशाख २०८१, शुक्रबार

मन्त्रिपरिषद्लाई चाँडै पूर्णता दिने पाँच दलीय गठबन्धनबीच सहमति

satta gathaban 1 68

सत्तारुढ पाँच दलीय गठबन्धनका नेताहरु मन्त्रिपरिषदलाई छिटो पूर्णता दिन सहमत भएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको पाँच दलीय गठबन्धनको बैठकमा नेताहरुले मन्त्रिपरिषद् विस्तारमा ढिला गर्न नहुने बताएका छन् ।

मन्त्रालय भागवण्डाबारे भने आजको बैठकमा छलफल नभएको नेकपा (एकीकृत समाजवादी)का नेता बेदुराम भुसालले जानकारी दिनुभयो । मन्त्रालय भागबण्डाबारे गठबन्धनका शीर्ष नेताहरुबीच आजै फेरी छलफल हुनेछ ।

बैठकमा सहभागी कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले शीर्ष तहमा मन्त्रालय टुंगो लगाउने र मन्त्रिपरिषदलाई छिटो पूर्णता दिने सहमति भएको जानकारी दिनुभयो ।

बैठकमा सत्ता गठबन्धनलाई औपचारिक स्वरुप दिएर सरकारका कामलाई प्रभावकारी बनाउन सहयोग गर्ने विषयमा सहमति भएको छ । त्यस्तै अध्यादेशबाट एमाले सरकारले ल्याएको बजेट प्रतिस्थापन गर्ने प्रक्रियाबारे पनि छलफल भएको छ ।

आजको बैठकमा संवैधानिक परिषद्ले यसअघि गरेका नियुक्ति, सरकारका प्राथमिकता, सत्यनिरुण तनथा बेपत्ता आयोगको कार्यका बारेमा पनि गठबन्धनमा छलफल भएको छ ।

बैठकमा प्रधानमन्त्री देउवासहित कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, पूर्णबहादुर खड्का सहभागी हुनुहुन्थ्यो ।

माओवदीबाट अध्यक्ष प्रचण्ड र नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेता बेदुराम भुसाल र जसपा अध्यक्ष उपेन्द्र यादव तथा डा. बाबुराम भट्टराई बैठकमा सहभागि हुनुभएको थियो ।

कांग्रेसले ७, माओवादी केन्द्रले ६, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले ४–४ वटा मन्त्रालय लिने प्रस्ताव गरिएको छ । तर एमाले विभाजन गरेर बनेको नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले भौतिक पूर्वाधार तथा यातायात सहित ६ वटा मन्त्रालय दाबी गरेको छ ।

तर भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणसहित ५ वटासम्म मन्त्रालय दिन कांग्रेस तयार देखिएको छ । उपेन्द्र यादव नेतृत्वको जसपाले मन्त्रालय बाँडफाँट समान हुनुपर्ने भन्दै ५ वटा दाबी गरेको छ ।

यसैगरी अर्थ र उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय लिइसकेको नेकपा माओवादी केन्द्रले भौतिक पूर्वाधारसहित थप चार मन्त्रालय दाबी गरेको छ । मन्त्रालय भागवण्डासँगै उपप्रधानमन्त्री राख्ने कि नराख्ने भन्ने पनि टुंगो लाग्न बाँकी छ ।

प्रधानमन्त्री देउवा उपप्रधानमन्त्री नराख्ने पक्षमा हुनुहुन्छ । असार २९ गते प्रधानमन्त्री नियुक्त हुनुभएका प्रधानमन्त्री देउवाले अझै मन्त्रिपरिषद्लाई पुर्णता दिन सक्नुभएको छैन ।