४ बैशाख २०८१, मंगलवार

उल्लेख्य प्रतिशत नेपालीमा कोभिड–१९ को एन्टिबडी फेला, अहिले नै हतारो नगर्न विज्ञको चेतावनी

covide 19 vaccine

नेपालमा उल्लेख्य प्रतिशत जनसंख्यामा कोभिड–१९ को एन्टिबडी फेला परेको सरकारले दाबी गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको पछिल्लो सीरोप्रेभलन्स सर्वेक्षणले देशभरिबाट सङ्कलित नमूनामध्ये ६८.६ प्रतिशतमा कोभिड–१९ को एन्टिबडी फेला परेको देखाएको हो । अर्थात दुईतिहाइभन्दा बढी मानिसमा कोभिडविरुद्ध प्रतिरोध क्षमता देखा परेको सर्वेक्षणले देखाएको मन्त्रालयले जनाइको छ । प्राकृतिक रूपमा संक्रमित भइसकेर वा खोप लगाएर दुवै कारणबाट प्रतिरोध क्षमता बढेको विश्वास गरिएको छ ।

विगतमा समुदायमा ७० प्रतिशतभन्दा धेरै मानिसहरूमा प्रतिरोधी क्षमता विकास भएमा सामुदायिक प्रतिरोध वा हर्ड इम्यूनिटी विकास हुने बताइएको थियो । यसबाट महामारीको सम्भावना न्यून हुँदै जाने विज्ञहरुको भनाइ थियो ।

मन्त्रालयले गरेको सर्वेक्षणको नतिजालाई विज्ञहरूले स्वागतयोग्य र सकारात्मक भनेका छन् । तर निश्चिन्ता हुनभने नहुने उनीहरुको चेतावनी छ ।

सङ्क्रामक रोगका अनुसन्धानकर्ता एवं अक्सफर्ड विश्वविद्यालयको क्लिनिकल रिसर्च युनिट नेपालका डा. बुद्ध बस्नेतले पछिल्लो नतिजा सकारात्मक भए पनि विगतमा भारतमा यस्तै नतिजा आएलगत्तै त्यहाँ नयाँ डेल्टा भेरिअन्टले आक्रान्त पारेको तथ्यलाई बिर्सन नुहने बताउनुभयो ।

कोरोना भाइरस असाध्यै चलाख र जोखिमपूर्ण देखिएकोले अहिले नै हर्ड इम्यूनिटीको पछाडि लाग्नु बेकार हुने उहाँको भनाइ छ । उहाँले अहिलेका लागि खोपबाटै सबैलाई सुरक्षित पार्नु प्रभावकारी विकल्प रहेको बताउनुभयो । यस्तै मास्क, भौतिक दूरी तथा अरू स्वास्थ्य मापदण्डमा अहिले नै खुकुलो बनाउन नहुने उहाँको सुझाव छ ।