१४ बैशाख २०८१, शुक्रबार

खतराको तह पार गर्‍यो नारायणी नदीले, उच्च सतर्कता अपनाउन आग्रह

narayani

नारायणी नदीले सतर्कता तह पार गरेपछि नदी तटीय क्षेत्रका जिल्लावासीलाई उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)ले आग्रह गरेको छ । नारायणी नदीले देवघाटस्थित बाढी मापन केन्द्रमा जलसतह सतर्कता तह पार गरेको र नदीमा पानीको बहाव बढ्दो क्रममा रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी मनमाया भट्टराई पङ्गेनीले नदी तटीय क्षेत्रका बासिन्दाले आज रातिसम्म उच्च सतर्कता अपनाउनुपर्ने बताउनुभयो । “नारायणी नदीमा पानीको बहाव बढ्दै गएको छ,” पङ्गेनीले भन्नुभयो, “नदीको जलाधार क्षेत्रमा निरन्तर वर्षा भइरहेकाले नदीमा ठूलो बाढी आउन सक्ने भएकाले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन जरुरी छ ।”

जिल्लाको गैँडाकोट, देवचुली, कावासोती, मध्यविन्दु नगरपालिका तथा विनयी त्रिवेणी गाउँपालिकाका विभिन्न वडामा नारायणी नदीको तटीय क्षेत्रमा बसोबास रहेको भन्दै ती स्थानमा डुबान र कटानको समस्या देखिएको पङ्गेनीले बताउनुभयो ।

त्यसैगरी जिल्लाका अन्य खोलामा समेत बाढी आउन सक्ने भएकाले सतर्कता अपनाउनुपर्ने उहाँको भनाइ छ । बर्खामा बाढी र पहिराको उच्च जोखिम रहेको भन्दै उद्धारका लागि सुरक्षाकर्मीसहितको उद्धार टोली तयारी अवस्थामा राखिएको उहाँले बताउनुभयो ।

देवघाटको बाढी मापन केन्द्रका अनुसार आज अपराह्न ४ः४५ बजे नारायणी नदीमा पानीको बहाव ७.७ मिटर रहेको छ । नारायणी नदीमा पानीको सतह ७.३ मिटरलाई सतर्कता तहको विन्दु मानिएको छ भने नौ मिटरलाई खतराको तह मानिएको छ । नारायणी नदीमा पानीको बहाव अहिले पनि निरन्तर बढ्दो क्रममा रहेको बाढी मापन केन्द्रले जनाएको छ । रासस