१४ बैशाख २०८१, शुक्रबार

अध्यक्ष दाहालको राजनीतिबाट विदा लिने चाहना !

prachanda1630147909

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीमा युवाहरुलाई नेतृत्व दिने मनसाय भएको बताउनु भएको छ । 

शनिवार आयोजित वाईसीएलको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले छिटो भन्दा छिटो युवाहरुलाई नेतृत्व हस्तान्तरण गर्ने मनसाय भएको बताउनु भएको हो । उहाँले राजनीतिबाट विदा हुने चाहना भएकाले युवाहरुलाई तयार रहन आग्रह गर्नुभयो । युवाहरु तयार भएपछि आफू अलि भिन्न भूमिकामा जाने तयारीमा रहेको दाहालको भनाई छ ।

माओवादीले २० प्रतिशत युवालाई केन्द्रीय समितिमा राख्ने निर्णय गरेको उहाँले बताउनुभयो । उहाँले राष्ट्रिय राजनीतिमा अन्य पार्टी भन्दा माओवादी अलग देखिनुपर्ने पनि बताउनुभयो । 

यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी केन्द्रका संगठन विभाग प्रमुख जनार्दन शर्माले वाईसीएललाई कार्यकारी राष्ट्रपतिको मुद्दा उठाएर अगाडि बढ्न निर्देशन दिनु भएको छ । अर्थमन्त्री समेत रहनु भएका शर्माले विगतमा पार्टीले उठाउँदै आएका मुद्दालाई बोकेर अघि बढ्न निर्देशन दिनु भएको हो । वाईसीएल मुद्दा विहीन बनेमा जीवन्त नहुने शर्माको भनाइ थियो ।

उहाँले विगतमा पार्टीले उठाउँदै आएका र पूरा हुन नसकेका मुद्दालाई फेरि उठाउनुपर्ने बताउनुभयो । वाईसीएलले सामाजिक, सांस्कृतिक र आर्थिक रूपान्तरणको मुद्दा बोकेर अघि बढ्नुपर्ने शर्माको भनाइ थियो ।

उहाँले संगठनलाई विस्तार गर्दै सदस्यलाई रोजगारी र उत्पादनमा जोड्ने योजना ल्याउन सुझाव दिनुभयो । उहाँले सहमतिका आधारमा नै संगठनमा कार्यविभाजन गर्नका लागि सुझाव दिनुभयो ।