१६ चैत्र २०८०, शुक्रबार

नेपालमा हालसम्म ६३ वटा जिल्ला प्रभावित: बाढीपहिरोबाट ९० जनाको ज्यान गयाे, ७५९ घर भत्किए

flood and landslide

बाढीपहिरोबाट नेपालमा हालसम्म ६३ वटा जिल्ला प्रभावित भएका छन् । जेठ ३१ देखि भदौ ११ गतेसम्म बाढीपहिरोका कारण ६३ वटा जिल्ला प्रभावित भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

यो मनसुनमा बाढीपहिरोका कारण ९० जनाले ज्यान गुमाइसकेका छन् । ४५ जना बेपत्ता र ९६ जना घाइते भएको विपद् जोखिम न्यूनीकरण प्राधिकरणकाे विवरणमा उल्लेख छ । यसैगरी ४० जिल्लामा ७५९ वटा घर पूर्ण रुपमा क्षति भएको छ भने १६८ वटा घरमा आंशिक क्षति भएको छ ।

बाढीपहिरोका कारण ३७ वटा सरकारी कार्यालय, १५ वटा सामुदायिक भवन–स्कुल, २५ वटा जलविद्युत आयोजना, २९ वटा मोटरेबल पुलमध्ये ७ वटा काठेपुल र २९ वटा झोलङ्गे पुलमा क्षति भएको प्राधिकरणले जनाएको छ ।

बाढीका कारण बाजुरामा एक जनाको मृत्यु, एक जना बेपत्ता भएका छन् । त्यस्तै ११ वटा घर पूर्ण रुपमा क्षति भएको छ भने ५ वटा घरमा आंशिक क्षति भएको छ ।

गोरखामा बाढीबाट चार जनाको मृत्यु, दुई जना बेपत्ता र दुई जना घाइते भएका छन् । साथै १६ वटा घर पूर्णरुपमा क्षति भएको छ भने ५८ वटा घरमा आंशिक रुपमा क्षति भएको छ । त्यस्तै एउटा झोलुङ्गे पुलमा क्षति पुगेको छ । मनाङमा बाढीका कारण ५९ वटा घर पूर्णरुपमा र २० वटा घरमा आंशिक रुपमा क्षति भएको छ । साथै बाढीले सडक एक, बेलिब्रिज एक, सामुदायिक भवन एक, झोलुङ्गे पुल आठ, पक्कि पुल दुई, मोटरेवल काठेपुल सात, सरकारी कार्यालय चार, स्कुल १ र दुई वटा बैंकमा क्षति पुगेको छ । त्यस्तै चारवटा विद्युतीय पावर हाउसमध्ये दुईवटा पूर्णरुपमा क्षति भएको छ भने दुईवटाको पाइपलाइन बाढीले बगाएको छ ।

सिन्धुपाल्चोकमा पाँच जनाको मृत्यु, २० जना बेपत्ता र ६ जना घाइते भएका छन् भने ४५० घर पूर्णरुपमा क्षति भएको छ । यसैगरी आठवटा पक्की पुल, १५ वटा झोलुङ्गे पुल, १० वटा माछा फर्म, अन्य सरकारी भवन ३२ वटा र एक फर्निचर उद्योग सामुदायिक भवनमा क्षति पुगेको छ ।

त्यस्तै प्यूठानमा बाढीका कारण दुई जनाको मृत्यु भएको छ भने एक घर पूर्णरुपमा र एक घर आंशिक रुपमा क्षति भएको छ । पाल्पामा अविरल वर्षाका कारण पाँच जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । साथै पाँच घर पूर्णरुपमा क्षति भएको छ । लमजुङमा बाढीले ३५ घरमा पूर्ण क्षति र ५६ घरमा आंशिक क्षति भएको छ । त्यस्तै एक मन्दिर, एक आमा समूहको भवन, दुई झोलुङ्गे पुल र एक सब डिभीजन वन कार्यालयमा क्षति भएको छ । डोटीमा पहिरोका कारण चारको मृत्यु र तीन घाइते हुनुका साथै एक घर पूर्णरुपमा क्षति भएको छ ।

जुम्लामा हिमपहिरोका कारण चार जनाको मृत्यु, एक जना बेपत्ता, तीन जना घाइते र तीन घर पूर्णरुपमा क्षति भएको छ । अर्घाखाँचीमा दुई जनाको मृत्यु र १२ घरा पूर्णरुपमा क्षति भएको छ । कास्कीमा एक जनाको मृत्यु, तीन जना घाइते र एक सडक, दुई स्कुल र एक फलामे पुलमा क्षति पुगेको छ । काभ्रेमा एक जनाको मृत्यु, रुपन्देहीमा एक जनाको मृत्यु र दुई जना बेपत्ता भएका छन् । साथै १५ घर पूर्णरुपमा क्षति भएको छ ।

कालिकोटमा दुई जना, सप्तरीमा दुई जनाको मृत्यु भएको छ । मुस्ताङमा पहिरोका कारण एक घर पूर्णरुपमा क्षति भएको छ । बझानमा एक जनाको मृत्यु, एक जना घाइते र तीन घर पूर्णरुपमा क्षति भएको छ । चितवनमा दुई जनाको मृत्यु, तीन जना बेपत्ता, एक जना घाइते भएका छन् । साथै पाँच घरमा पूर्ण क्षति भएको छ भने दुई पक्कि पुल बगाएको छ । हुम्लामा पहिरोले पाँच घर पूर्णरुपमा र पाँच घरमा आंशिक क्षति भएको छ । पाँचथरमा तीन जनाको मृत्यु र एक जना घाइते भएका छन् । रोल्पामा पहिरोबाट तीन जनाको मृत्यु, पाँच जना घाइते र सात घर पूर्णरुपमा क्षति भएको छ ।

सोहीअनुसार दाङमा पाँच जनाको मृत्यु, दुई जना बेपत्ता र दुई जना घाइते भएका छन् । साथै पाँच घर पूर्णरुपमा क्षति भएको छ । संखुवासभामा एक घरमा पूर्णरुपमा क्षति भएको छ । रौतहटमा तीन जनाको मृत्यु र एक जना घाइते भएका छन् । साथै आठ घर पूर्णरुपमा र पाँच घरमा आंशिक क्षति भएको छ । सर्लाहीमा अविरल वर्षाका कारण बाढीले एक जनाको मृत्यु, तीन जना घाइते र नौ घर पूर्णरुपमा क्षति भएको छ । साथै एक मन्दिर र एक महिला समूह भवनमा क्षति पुगेको छ ।

यसैगरी तनहुँमा पाँच जनाको मृत्यु, एक जना बेपत्ता र १० जना घाइते भएका छन् । १५ घर पूर्णरुपमा र चार घर आंशिक रुपमा क्षति भएको छ । साथै एक पक्कि पुल बगाएको छ । धादिङमा दुई जनाको मृत्यु, एक बेपत्ता र छ जना घाइते भएका छन् । बारामा चार घर पूर्णरुपमा क्षति भएको छ । सिन्धुलिमा दुई जनाको मृत्यु र एक घरमा पूर्णरुपमा क्षति भएको छ । अछाममा पहिरोका कारण एक जना बेपत्ता, एक जना घाइते भएका छन् भने एक पक्कि पुलमा क्षति पुगेको छ । मोरङ र सिरहामा एक–एक वटा पक्कि पुलमा क्षति पुगेको छ ।

त्यस्तै, खोटाङमा अविरल वर्षाका कारण दुई जनाको मृत्यु, तीन जना घाइते र चार घर पूर्णरुपमा क्षति भएको छ । रामेछापमा एक जना घाइते र दुई घर पूर्णरुपमा क्षति भएको छ । सुनसरीमा एक घरमा पूर्णरुपमा क्षति भएको छ । धनुषामा चार घरमा पूर्णरुपमा र छ घर आंशिक रुपमा क्षति भएको छ । सोलुखुम्बुमा चार घर पूर्णरुपले क्षति भएको छ भने एक विद्यालयमा क्षति पुगेको छ । मकवानपुरमा एक जनाको मृत्यु र आठ घर पूर्णरुपमा क्षति भएको छ भने एक पक्कि पुल बगाएको छ । उदयपुरमा एक जनाको मृत्यु र एक घर पूर्णरुपमा क्षति भएको छ । साथै एक पक्कि पुल र एक स्कुलमा क्षति पुगेको छ । नवलपरासी पूर्वमा तीन जना बेपत्ता, एक जना घाइते र आठ घर पूर्णरुपमा क्षति भएको छ । त्यस्तै एक पक्कि पुलमा क्षति भएको छ ।

यसैगरी पर्वतमा दुई जनाको मृत्यु, एक जना बेपत्ता र दुई जना घाइते भएका छन् । म्याग्दीमा दुई जनाको मृत्यु, एक जना घाइते र दुई घर पूर्णरुपमा क्षति भएको छ । बागलुङमा एक जना बेपत्ता, तीन घर पूर्णरुपमा र दुई घरमा आंशिक क्षति भएको छ । दार्चुलामा पाँच जनाको मृत्यु, चार जना घाइते र पाँच घर पूर्णरुपमा क्षति भएको छ । बैतडीमा चार घर पूर्णरुपमा र चार घरमा आंशिक क्षति भएको छ भने दुई मन्दिर र एक प्रतिक्षालयमा क्षति भएको छ । तेह्रथुममा पहिरोका कारण एक घर पूर्णरुपले क्षति भएको छ । नुवाकोटमा एक जनाको मृत्यु, दुई जना घाइते र चार घर पूर्ण क्षति भएको छ ।

भोजपुरमा पाँच जना घाइते र दुई घरमा पूर्ण क्षति भएको छ । सल्यानमा दुई जनाको मृत्यु, तीन जना घाइते र एक घरमा पूर्ण क्षति भएको छ । ओखलढुंगामा तीन घरमा पूर्ण र चार घरमा आंशिक क्षति भएको छ । डडेल्धुरामा एक जना घाइते र एक घरमा आंशिक क्षति भएको छ । रुकुम पूर्वमा एक जना घाइते र एक घरमा पूर्ण क्षति भएको छ । कैलालीमा दुई जनाको मृत्यु, दुई बेपत्ता, दुई घाइते र एक घरमा पूर्ण क्षति भएको छ । रुकुम पश्चिममा एक जनाको मृत्यु, दुई घाइते र एक घरमा पूर्ण क्षति भएको छ । रसुवामा पाँच जनाको मृत्यु, एक जना घाइते र पाँच घरमा पूर्ण क्षति भएको छ ।

त्यस्तै, गुल्मीमा एक जना घाइते भएका छन् । कपिलवस्तुमा एक जनाको मृत्यु, नवलपरासी पश्चिममा दुई जनाको मृत्यु, तीन जना बेपत्ता, दुई जना घाइते र दुई घर पूर्णरुपमा क्षति भएको छ । बैतडीमा दुई घर पूर्णरुपले क्षति भएको छ । दैलेखमा तीन जना घाइते भएका छन् ।