२० बैशाख २०८१, बिहीबार

यस्ता छन् अन्तिम समयसम्म माधव नेपाललाई साथ दिनेहरु

madhav nepal 3 69

नेकपा एकीकृत समाजवादी दर्ता गर्न साविक एमालेका ५५ जना केन्द्रीय सदस्यले हस्ताक्षर गरेका छन् । निर्वाचन आयोग पुगेर उनीहरुले हस्ताक्षर सनाखत गरेका हुन ।

संघीय संसद्का सदस्यतर्फ भने ३० जनाले हस्ताक्षर गरेको नेता मेटमणि चौधरीले जानकारी दिनुभयो । एमालेबाट विभाजित भएर नयाँ पार्टीको मान्यता पाउन केन्द्रीय समितिमा ४१ वा संसदीय दलमा ३१ सदस्य पुग्नुपर्छ ।

नेकपा एकीकृत समाजवादीका नेता गंगालाल तुलाधरले दल दर्ताका लागि चाहिने आवश्यक संख्या पुगेको बताउनुभयो । उहाँले आफूहरुले रगत पसिना बगाएर बनाएको पार्टी नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीका कारण छाडेर नयाँ पार्टी दर्ता गर्नु पर्ने स्थिति आएको बताउनुभयो ।

झलनाथ खनालले दिल्लीबाटै हस्ताक्षर पठाउनु भएको छ भने प्रदीप नेपालले निर्वाचन आयोग पुगेरै हस्ताक्षर गर्नुभएको छ । एमाले उपाध्यक्ष वामदेव गौतमकी श्रीमती एव सांसद तुलसा थापा नयाँ पार्टीका पक्षमा खुल्नुभएको छ ।

यसले गौतम पनि एकीकृत समाजवादीमा जाने प्रष्ट भएको छ । तर आयोगले पछि थपिन गएका सांसद सोमप्रसाद पाण्डे, शारदादेवी भट्ट, तुलसा थापा र माया ज्ञवालीको हस्ताक्षरलाई सनाखत गरेको छैन ।

शुरुमा दर्ताका लागि निवेदन दिएकाकै सनाखत गर्ने र पछि थपिएकाको सनाखत गर्ने व्यवस्था ऐनले नगरेको आयोगले जनाएको छ ।

हस्ताक्षर सनाखतका लागि माधवकुमार नेपालसहितका नेता चन्द्रागिरी रिसोर्टबाट टुरिस्ट बस चढेर निर्वाचन आयोग पुगेका थिए ।

एकीकृत समाजवादी बन्यो संसदमा चौथो ठुलो दल

नेकपा एमालेबाट अलग भएर बनेको नेकपा एकीकृत समाजवादी संसदको चौथो दल बन्ने भएको छ ।

निर्वाचन आयोगले दल दर्ताको प्रमाण पत्र दिएर दल दर्ता भएको जानकारी संसदमा जानकारी गराएपछि औपचारिक रुपमै एकीकृत समाजवादी चौथो ठूलो दल हुनेछ ।

नयाँ दल दर्ताका लागि आज एमालेका प्रतिनिधिसभाका २२ र राष्ट्रियसभाका आठ गरी ३० जना सांसद नयाँ पार्टीका पक्षमा उभिएपछि नयाँ दल चौथो ठूलो हुनेछ । यसअघि जनता समाजवादी पार्टी चौथो ठूलो दल थियो ।

माधवकुमार नेपालको नेतृत्वमा झलनाथ खनाल, मुकुन्द न्यौपाने, कल्याणीकुमारी खड्का, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, रामकुमारी झाँक्री, निरादेवी जैरू, प्रेमबहादुर आले, मेटमणि चौधरी, सरला यादव, भवानी खापुङ, पुष्पाकुमारी कर्ण कायस्थ, समिना हुसेन, कृष्णलाल महर्जन, कृष्णकुमार श्रेष्ठ नयाँ पार्टीमा लाग्नुभएको छ ।

यस्तै कलिला खातुन हिराचन्द्र केसी, धनबहादुर बुढा, गोपालबहादुर बम, लक्ष्मी चौधरी पार्वती कुमारी विशुंके विना बुढाथोकी बेदुराम भुषाल उदया शर्मा ठगेन्द्रप्रसाद पुरी शेरबहादुर कुँवर सिंहबहादुर विश्वकर्मा नन्दा चपाईं शान्तिकुमारी अधिकारी जिसी नयाँ पार्टीमा जानुभएको छ ।

एमालेका प्रतिनिधिसभामा १ सय २१ मध्ये २२ र राष्ट्रियसभामा ३३ जना मध्ये आठ जना नयाँ पार्टीमा लागेका छन । त्यस्तै सोमप्रसाद पाण्डे, मायादेवी ज्ञवाली, तुलसा थापा र शारदा भट्टको सनाखत भने हुन सकेको छैन ।

दल दर्ताको निवेदनमा हस्ताक्षर नभए पनि यी सांसद अहिले नयाँ पार्टीमा लागेका छन् । तर आयोगले सनाखत गरेको छैन ।