५ जेष्ठ २०८१, शनिबार

बाँकी जीवन समाजवाद उन्मुख विकासका लागि : प्रचण्ड

Prachanda Pic

पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफनो बाँकी जीवन समाजवाद उन्मुख विकासका लागि प्रयोग गर्ने बताएका छन् ।

भरतपुर महानगरमा भरतपुर मेट्रो प्लाजाको शिलान्यास कार्यक्रम लाई सम्बाेधन गर्दै प्रमुख अतिथि प्रचण्डले भरतपुर मेट्रो प्लाजा चितवन भरतपुरका जनताको चेतना, संस्कार र सम्यतालाई प्रतिबिम्बित गर्ने प्रोजेक्ट भएको बताए ।

प्रचण्डले चितवनको विकास राष्ट्रको विकासको मोडल बनोस् भन्ने आफ्नो चाहना भएको र चाहनाअनुसार नयाँ फड्को मार्ने दावी पनि गरे । विकासको मुहार फेर्न सबै एकजुट हुनुको विकल्प नभएको पनि प्रचण्डकाे भनाइ छ ।

यसले दिने सन्देश पनि बहुआयामिक हुने उनको भनाइ छ । यसको निर्माणसँगै यसले चितवनको समग्र विकासमा एक कोसेढुङ्गा साबित गर्ने बताउँदै दाहालले यो मोडल देशकै लागि नमुना मोडलको रुपमा विकास हुने दाबी गरे ।

निजी क्षेत्रको साधन स्रोत र क्षमतालाई राज्यले सदुपयोग नगर्दासम्म देशको विकास नहुने बताउँदै प्रचण्डले देशको विकासलाई तीव्रता दिन निजी क्षेत्रको साधन स्रोत र क्षमतालाई राज्यले सदुपयोग गर्न अलि छाती ठूलो बनाएर मुठी खोलेर उदार मन बनाउनुपर्ने तर्क गरे ।

बिगतमा निजी क्षेत्रप्रति राज्य उदार नभएकाले विकास नभएको र अब राज्य निजी क्षेत्रका हकमा धेरै उदार हुने र यसले गर्दा देशमा ठूला ठूला प्रोजेक्टहरु सञ्चालन हुने उनको भनाइ छ ।

यो महानगरमा विकासको प्रचुर सम्भावना भएको बताउँदै प्रचण्डले यसलाई समयमै निर्माण गरी थप नयाँनयाँ गौरवका आयोजनाहरु पनि अब सरकारले अगाडि बढाउने दाबी गरे । यो परियोजना सार्वजनिक निजी साझेदारीको नयाँ सन्देश भएको र यो शिलान्यास गर्न पाउँदा गर्भ लागेको उनको बताए ।