
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवंम पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले गठबन्धनको नयाँ सरकारले देशमा विकासको गति दिने बताएका छन् ।
सार्वजनिक निजी साझेदारी अवधारणा बमोजिम निर्माण हुन लागेको भरतपुर मेट्रो प्लाजाको आज (बुधबार) विहान शिलान्यास गर्दै अध्यक्ष दाहालले नयाँ सरकारले नै देशमा विकासको गति दिने दावी गरे ।
झण्डै दुर्घटनामा परेको देशलाई गठबन्धनले बचाउन सफल भएको भन्दै उनले अब देश विकासमा ध्यान केन्द्रित हुने बताए । उनले देशलाई ठूलो दुर्घटनामा पार्ने षड्यन्त्रलाई असफल पार्न सफल भएको भन्दै यसमा सबै नागरिक समाज, बुद्धिजिविको साथ मिलेको स्मरण गरे ।
अध्यक्ष दाहालले देशलाई दुर्घटनाबाट जोगाउँन नयाँ गठबन्धन बनाउने सौभाग्य आफूलाई मिलेको भन्दै अब नयाँ परिस्थिति निर्माण गर्ने कोशिस रहने बताए ।
अध्यक्ष दाहालले तत्कालिन आफ्नै पार्टीका अध्यक्ष प्रधानमन्त्री हुँदा समेत आफूले साथ नपाएकाले चितवनको विकास सोँचे जति गर्न नसकिएको गुनासो गरे । उनले चितवनको विकास राष्ट्रको विकासको मोडल बनोस् भन्ने आफ्नो चाहना रहेको भन्दै अब नयाँ सरकारको साथ र सहयोग रहनेमा विश्वास व्यक्त गरे ।
अध्यक्ष दाहालले मकवानपुरको केही भू–भाग, नवलपुरको भ–ूभाग र चितवनलाई मिलाएर एउटै मोडलमा विकास गर्नुपर्नेमा जोड दिए ।