१६ चैत्र २०८०, शुक्रबार

एमाले फुटाउने गरी गलत नियतले अध्यादेश आयोः अध्यक्ष ओली

kp oli press meet

नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले फुटाउने गरी गलत नियतसाथ सरकारले अध्यादेश ल्याएको बताउनुभएको छ । यसले मुलुकको राजनीतिमा दूरगामी असर पुग्ने उहाँको भनाइ छ ।

स्थायी कमिटीको मङ्गलबार बसेको बैठकको निर्णयबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा बोल्नुहुँदै अध्यक्ष ओलीले सो कुरा बताउनुभयो ।

एमाले राष्ट्रिय राजनीतिको मूल प्रवाह भएकाले देशको समुन्नति र प्रगति गर्ने पनि एमालेकै काँधमा रहेको बताउनुभयो । सरकारले अध्यादेश ल्याएर देशमा फुट मच्चाउन खोजेको टिप्पणी गर्नुभयो । पार्टीमा फुटको खेती नहोस् भनेरै यसअघि संसदीय दल वा पार्टीमा ४० प्रतिशतको व्यवस्था गरिएको उहाँले स्मरण गर्नुभयो ।

अध्यादेश ल्याउनु संवैधानिक व्यवस्था भए पनि त्यो देश र जनताका लागि हुनुपर्ने अध्यक्ष ओलीले बताउनुभयो । अहिले अध्यादेश जारी गर्नुपर्ने कुनै आवश्यकता नभएका बेला एमाले फुटाउनकै लागि मात्र अध्यादेश ल्याइएको उहाँले टिप्पणी गर्नुभयो । आफू प्रधानमन्त्री भएका बेला पनि अध्यादेश आए पनि त्यसबेला र अहिलेको स्थिति फरक रहेकाे बताउनुभयाे

एमाले सचिव तथा प्रवक्ता प्रदीप ज्ञवालीले पार्टीभित्र उत्पन्न विवादले पार्टीलाई ठूलो क्षति व्यहोर्नुपरेको बताउनुभयो । पार्टीलाई विभाजित हुन नदिन सकारात्मक कदम चाल्नुहुने कार्यदलका सदस्यहरुलाई उहाँले धन्यवाद व्यक्त गर्नुभयो । एमाले नेपाली राजनीतिको मूल प्रवाह भएको जानकारी दिनुहुँदै सचिव ज्ञवालीले हानिकारक बाटो छाडी पार्टीको मूल प्रवाहमा आउन नेता माधवकुमार नेपाल पक्षलाई आग्रह गर्नुभयो ।

प्रमुख प्रतिपक्षी दललाई जसरी पनि विभाजन गर्नेगरी सरकारले अध्यादेश ल्याएकोप्रति टिप्पणी गर्नुहुँदै उहाँले भन्नुभयो, “यो अध्यादेशको दूरगामी असर नेपाली राजनीतिमा पर्नेछ । लोकतान्त्रिक व्यवस्थाको बर्खिलापमा छ ।” पार्टी परित्याग गरेका सांसदहरुको नाम अहिलेसम्म टाँस नगर्नुभएको गलत भएको उहाँले बताउनुभयो । सरकारको गलत कामकाजको रचनात्मक विरोध गर्नु प्रमुख प्रतिपक्षी दलको कर्तव्य भएकाले त्यसको खवरदारी जारी रहने बताउनुभयो ।

एमालेका सचिव योगेश भट्टराईले नेपाली दल विभाजनले प्रतिक्रान्ति शक्तिहरु सल्बलाउन थालेको बताउनुभयो । पार्टी विभाजनले कसैलाई फाइदा नपुग्ने भन्दै एकताबद्ध हुन पार्टी पङ्क्तिलाई आग्रह गर्नुभयो ।