१६ चैत्र २०८०, शुक्रबार

नेपाल भारत संयुक्त निगरानी संयन्त्रको नवौँ बैठक : भारतीय सहयोगका परियोजनाबारे छलफल

611b1b8672f2f Untitled 3

नेपाल भारत संयुक्त निगरानी संयन्त्रको बैठकले नेपालमा भारतीय सहयोगमा सञ्चालित विभिन्न आयोजनाबारे समीक्षा गरेको छ । बैठकले ती आयोजनाको प्रगतिबारे छलफल गर्दै कार्यान्वयनका क्रममा देखिएका समस्यालाई समयमै सम्बोधन गर्ने निष्कर्षसमेत निकालेको छ ।

बैठकमा नेपाली पक्षको नेतृत्व परराष्ट्र सचिव भरतराज पौड्यालले गर्नुभएको थियो । उहाँका साथमा परराष्ट्र मन्त्रालयका अधिकारी र अन्य मन्त्रालयका सम्बद्ध पदाधिकारीको उपस्थिति थियो । यसै गरी भारतीय टोलीको नेतृत्व नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले गर्नुभएको थियो । उहाँका साथमा भारतीय दूतावासमा अन्य पदाधिकारीको उपस्थिति थियो ।

बैठकमा आयोजनाको प्रगति तथा देखिएका समस्या समाधानका लागि चाल्नुपर्ने उपाय तथा आवश्यकताका आधारमा थप सहकार्य गरेर परियोजनालाई समयमै सम्पन्न गर्ने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

बैठकमा हाल निर्माणका क्रममा रहेका तराईका सडक, अन्तर्देशीय रेल परियोजना, अरुण तेस्रो जलविद्युत् आयोजना, पेट्रोलियम पाइप लाइन, पञ्चेश्वर बहुउद्देश्यीय आयोजना, भूकम्पपछिको पुनः निर्माण, सिँचाइ परियोजना, ऊर्जा तथा प्रसारण लाइन, नेपाल प्रहरी एकेडेमी, एकीकृत जाँच चौकी, रामायण सर्किट र महाकाली नदीको पुल, कृषि तथा सांस्कृतिक सम्पदालगायत विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भारत सरकारले २०७२ सालको भूकम्पबाट प्रभावित गोरखा र नुवाकोटमा ४६ हजार घर निर्माणमा सहयोग गरेको छ । यस्तै भारतीय सरकारी कम्पनी सतजल विद्युत् निगमले सङ्खुवासभामा ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । यस्तै अन्तर्देशीय प्रसारण लाइन तथा अन्य आयोजनामा समेत सहयोग गरेको छ ।

बैठकमा भारतीय सहयोगमा सञ्चालित आयोजनाको अनुगमन, समीक्षा तथा केही समस्या भए त्यसलाई समाधान गर्ने विषयमा सहमति भएको छ । परियोजनाका भइरहेको कामको प्रगति, समस्याको पहिचान र समाधानका लागि आवश्यक पहलका सन्दर्भमा बैठकमा विशेष कुराकानी भएको छ ।

सन् २०१६ मा भारतीय सहयोगका परियोजनाको प्रगतिबारे निगरानी गर्न उक्त संयन्त्र स्थापना भएको हो । संयन्त्रले आयोजनामा देखिएको समस्या निरूपणका लागि समयमै आवश्यक कदम चाल्ने गरेको छ । संयन्त्रको दशौँ बैठक आपसी सहमतिमा तय गरिने विज्ञप्तिमा जनाइएको छ । यसअघि २०७६ साल असार २३ मा संयन्त्रको सातौँ बैठक बसेको थियो । आठौँ बैठक २०७७ साल भदौ १ गते आयोजना गरिएको थियो । रासस