२६ बैशाख २०८१, बुधबार

नेपाल–भारत सीमा छुट्याउने एउटा सिमलको रुख

boder

विश्वभर विभिन्न देशको छिमेकी मुलुकसँग अनौठो किसिमका सीमा नाका छन् । कतै खोलालाई सीमा मानिन्छ भने कतै पुल पनि सीमा हुने गरेको छ ।

भारतसँग खुला सीमाना रहेको नेपालमा पनि रुखले सीमाना निर्धारण गरेको छ । दाङको भैवानाकामा रहेको सिमलको रुखले दुई देशको सीमा छुट्याउँदै आएको छ ।

नेपाल भारत सीमा क्षेत्र नजिकै रहेको दशगजामा ठूलो सिमलको रुख छ । दक्षिणतर्फ भारत र उत्तरतर्फ नेपालको बीच दशजगाको केन्द्र विन्दुमा ठूलो सिमलको रुख देखिन्छ । सिमलको रुखदेखि उत्तर तर्फतिर नेपालबाट भौवाखोला भारततर्फ बग्छ ।

सिमलको रुखदेखि उत्तरतर्फ नेपाली बस्तीहरू छन् भने पश्चिमतर्फ ६ सय २५ नम्बर र पूर्वमा ६ सय २४ नम्बरको नेपालको सीमा स्तम्भ छ । सिमलको रुखदेखि ठ्याक्कै दक्षिण तर्फ भारतीय सुरक्षा बल एसएसबीको क्याम्प छ ।

पहाडबाट बसाइँसराई गरेर भौवा नाका झरेका अधिकांश सीमाबासीहरूले दशजगामा सीमा स्तम्भ नभएकै कारण दुई देशको सीमा छुट्याउने सिमलको रुखलाई मान्दै आएका हुन् ।

भारतले सिमलको रुख देखि दक्षिणतर्फ खनजोत गर्न लगायत अन्य केही कामकाज गर्न दिदैन । दशजगामा नेपालको सीमा स्तम्भ नभएकै कारण सिमलको बोटलाई सीमा स्तम्भ मान्न बाध्य भएको स्थानीय बताउँछन् ।

आफ्नै गाउँपालिका आउन पनि भौवा नाकाबासीलाई भारतको भूमि प्रयोग गर्नुपर्ने बाध्यताले उनीहरू भारतीय सुरक्षाकर्मीको ज्यादती सहन विवश छन् । नेपाली भूमि प्रयोग गर्न वर्षायाममा गतिलो बाटो नहुँदा नाकावासीले नेपालमै आउन भारतीय भूमि प्रयोग गर्नुपर्ने अवस्था छ । यो बाध्यता अन्त्य गर्न स्थानीय सरकारले पहल गरिरहेको भएपनि सफल भने हुन सकेको छैन ।

सीमाक्षेत्रमा बसोबास गर्दै आइरहेका नाकाबासीहरूको अनुसार भारतीय एसएसबीले पनि दुई देशको सीमा छुट्याउने सिमलको बोटलाई मान्दै आएका छन् । दुई देश बिचको पक्की सिमा स्तम्भ नभई सिमलको बोटले सिमा छुट्यानु आफैमा अनौठो मान्ने गरिन्छ ।