७ बैशाख २०८१, शुक्रबार

सीमामा भारतको यस्तो दादागिरीः नेपाली भूमिमा तारबार

india nepal

कञ्चनपुरको दोधारा चाँदनीमा भारतीय पक्षले एकतर्फी रुपमा दशगजा क्षेत्रमा तारबार गरेपछि विवाद उत्पन्न भएको छ ।

दशगजा क्षेत्रमा रहेको खाली जमिन जीपीएसले आफ्नो देखाएको भन्दै भारतीय पक्षले एकतर्फी रुपमा तारबार र वृक्षारोपणको काम अगाडी बढाएपछि विवाद उत्पन्न भएको हो ।

दोधारा चाँदनी नगरपालिका वडा नम्बर ३ जमुनाघारीस्थित दशगजा क्षेत्रमा वृक्षारोपण गर्ने भन्दै भारतीय पक्षले तारबार गरेर खाडल खनिरेहको छ । दशगजा क्षेत्रमा तारबार गर्दा स्थानीय प्रशासनसँग समन्वय नगरेको भन्दै स्थानीयले विरोध गरेका छन् ।

विवादित क्षेत्रमा दुबै देशको संयुक्त सीमा सर्भे टोलीले नक्सांकन गरेपछि मात्रै तारबारको काम गर्नुपर्नेमा त्यसो नभएकोमा स्थानीयले असन्तुष्टि जनाएका छन् ।

सीमास्तम्भ १४ नजिक रहेको क्षेत्रमा यसअघि खुला चौर थियो । जसलाई नेपाली पक्षले गौचरनका रुपमा प्रयोग गर्दै आएको थियो । तर भारतीय वन विभागले यो क्षेत्रमा वृक्षारोपण गर्ने भन्दै बुधबारबाट तारबार र खालड खन्ने काम गरिरहेको छ । भारतीय पक्षले यो भूमिलाई आफ्नो दावी गर्दा नेपाली पक्षसँग नक्सासमेत छैन ।

जीपीएसले यो क्षेत्रलाई भारतको देखाएपछि त्यसकै आधारमा वृक्षारोपणका काम गरेको भारतीय पक्षले दावी गरेको भनेर दोधारा–चाँदनीका नगर प्रमुख किशोर लिम्बु निरीहता व्यक्त गर्नुहुन्छ ।

भारतीय पक्षले दोधरा चाँदनीमा मात्रै हस्तक्षेप गरेको छैन । तीन दिन अघि जग्गाधनी पूर्जा भएका बेलौरीका किसानको खेतमै आएर खनजोत गर्न दिएन । भारतीय हेपहा प्रवृत्ति रोक्न नेपाल भारत संयुक्त सर्भे टोलीले बेलैमा नक्सांकनको काम गरी दीर्घकालिन समाधान खोज्न जरुरी छ ।