११ बैशाख २०८१, मंगलवार

माओवादी केन्द्रको बैठक : पार्टी नीतिविहीन भएको भन्दै नेतृत्वमाथि प्रश्नै प्रश्न

moist center 3

नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकमा पार्टी नेतृत्वको सोच र जीवन शैलीमाथि गम्भीर प्रश्न उठेको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि छलफल गर्दै केन्द्रीय सदस्यहरुले पार्टी नीतिविहीन भएको समेत टिप्पणी गरेका छन । उनीहरुले नेतृत्वमाथि प्रश्नै प्रश्न उठाउँदै पार्टीप्रति चर्को असन्तुष्टि व्यक्त गरेका छन् ।

पार्टी सर्वहाराको, नेतृत्व सामन्ती ?

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रस्तावमाथि छलफल गर्दै केन्द्रीय सदस्यहरुले नेतृत्वमाथि गम्भीर प्रश्न उठाए । मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा रहेपनि पार्टी नेतृत्व र नेताहरु सामन्ती बन्दै गएको केन्द्रीय सदस्यहरुको टिप्पणी छ ।

समूह नम्बर आठको रिपोर्टिङ गर्दै टोली नेता युवराज चौलागाइँले पार्टी नेताको जीवन शैली र सोचबारे प्रश्न उठाउनुभएको हो । पार्टी सर्वहाराको नेता र नेतृत्व सामन्ती यो पटक्कै मेल खाएन उनीहरुले भनेका छन् । पार्टीलाई सामन्ती शैलीले गाँजेको भन्दै उनीहरुले यसलाई कसरी सुधार्न सकिएला भनेर प्रश्न गरेका छन् ।

माओवादीको लाइन के हो ?

नेतृत्व सामन्ती भएको मात्रै होइन, नीतिविहीन भएको प्रश्न पनि माओवादीको केन्द्रीय समितिमा उठेको छ । बैठकमा समूहगत सुझाव दिने क्रममा माओवादीको आफ्नै लाइन नभएको पनि गुनासो गरेका हुन ।

नेताहरुले माओवादीलाई कांग्रेस र एमालेले पालैपालो एकअर्काविरुद्ध प्रयोग गरिरहेको भन्दै प्रचण्डको ध्यानाकर्षण गरेका छन् । माओवादीलाई स्वतन्त्र र आत्मनिर्भर पंक्तिका रुपमा विकास गर्नु अहिलेको चुनौती भएको र यसो गरे मात्रै पार्टी स्पष्ट लाइनसहित उभिन सक्ने उनीहरुको तर्क छ । त्यसैले शान्तिपूर्ण राजनीतिमा आएपछिको समग्र समीक्षा हुनुपर्ने केन्द्रीय सदस्यको माग छ ।

व्यवस्था धरापमा पर्दा प्रचण्डले जिम्मेवारी लिनु पर्दैन ?

पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको कारण व्यवस्था संकटमा परेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र केन्द्रीय सदस्यहरुको समान बुझाई छ । मुख्य दोषीका रुपमा ओलीलाई अगाडि सारेपनि प्रचण्डको भूमिका के भन्नेमा पनि माओवादी केन्द्रीय समितिको बैठकमा प्रश्न उठेको छ ।

नेकपा एमालेसँग गरिएको एकताले व्यवस्था नै जोखिममा परेको भन्दै उनीहरुले यसका लागि मुख्य दोषी त केपी ओली भएपनि हाम्रो भागमा पनि त्यो दोष पर्छ कि पर्दैन भनेर प्रचण्डलाई प्रश्न गरेका छन । एमालेसँगको एकतालाई माओवादी केन्द्रीय सदस्यले अपेक्षित तर हतारमा गरिएको भनेर असन्तुष्टि व्यक्त गरेका छन् ।

कांग्रेससँग मिलेर समाजवादको सपना ?

नेकपा माओवादी केन्द्रका नेताहरुले नेपाली कांग्रेसलाई दलाल पूँजीपतिको पार्टी भन्दै तालमेल गरेर चुनावमा जान र समाजवादको सपना कसरी देख्न सकिन्छ भनेर पनि प्रश्न पनि गरेका छन् ।

उनीहरुले कांग्रेससँगको सहकार्यलाई शंकाको नजरले हेरेका छन् । कांग्रेससँग मिलेर समाजवादको सपना देख्नै नसकिने उनीहरुको टिप्पणी छ । केन्द्रीय सदस्यहरुले यसलाई अनैतिक पनि भनेका छन् । पाँच दलीय गठबन्धनलाई आगामी चुनावसम्म लैजान सकिने प्रचण्डको प्रस्तावमा उनीहरुको असहमति छ ।

एमसीसीबारे अस्पष्टता किन ?

नेकपा माओवादी केन्द्र अहिले सत्ता साझेदार पार्टी हो, यसका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय हित विपरित भएका प्रावधान हटाएर मात्रै एमसीसी कार्यान्वयन गर्ने भनेर सार्वजनिक रुपमा बारम्बार बोल्दै आउनुएको छ । तर एमसीसीका विषयमा प्रचण्डको धारणा नै स्पष्ट नभएको र यसले गर्दा पार्टी पनि स्पष्ट हुन नसकेको विषय केन्द्रीय समिति बैठकमा उठेको छ ।

केन्द्रीय सदस्यहरुले एमसीसी राष्ट्रघाती भन्दै प्रचण्डसित प्रष्ट धारणा मागेका छन । प्रचण्डले एमसीसी लिपुलेक, कालापानी र लिम्पियाधुराको प्रश्नलाई पार्टीको घोषित नीतिअनुसार कूटनीतिक संवादका माध्यमबाट हल गर्न प्रयत्न गरिने’ भनेर राजनीतिक प्रतिवेदनमा लेखेपछि केन्द्रीय सदस्यले त्यसलाई अष्पष्ट भनेका हुन । उनीहरुले माग गरेका छन–अध्यक्षबाट स्पष्ट व्याख्या आउनुपर्यो ।

केन्द्रीय सदस्यहरुले पार्टी नेतृत्व र अध्यक्ष प्रचण्डका विषयमा उठाएका प्रश्न एक दिन प्रचण्डले स्पष्टिकरण दिएर हल हुने विषय होईनन, त्यसका लागि प्रष्ट व्यवहार, नीति, सोच र कार्यान्वयनको आवश्यकता पर्छ । यी विषय बैठकमै उठेर हराउने हुन कि त्यसमा निरन्तर प्रश्न हुन्छ त्यो भने हेर्न बाँकी छ ।