१३ बैशाख २०८१, बिहीबार

तनहुँमा भदौ ७ गतेसम्म निषेधाज्ञा लम्बियो, थप कडाइ गरिने

tanahu DAO

तनहुँमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा लम्ब्याएको छ । आइतबार बसेको जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले भदौ १ गते राति १२ बजेदेखि भदौ ७ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभयो ।

जिल्लामा कोरोना सङ्क्रमणको दर बढेकाले निषेधाज्ञामा थप कडाइ गर्नु परेको सहायक प्रमुख जिल्ला अधिकारी बरालले बताउनुभयो । ‘यसअघिको बैठकबाट यही साउन ३२ गतेसम्म निषेधाज्ञा जारी गरेका थियौ,’ उहाँले भन्नुभयो, ‘आज बैठक बसेर भदौ ७ सम्म लम्ब्याउने निर्णय भयो ।’ थप गरिएको अवधिमा निषेधाज्ञामा कडाइ गरिने उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार दैनिक उपभोग्य खाद्यान्न, तरकारी, फलफूल, माछा, मासु, कृषिजन्य विउविजन र निर्माण सामग्री बिक्री वितरण गर्ने पसलसँगै वर्कसप बिहान ५ देखि १० बजेसम्म मात्र खोल्न पाइने छ । यी बाहेकका अन्य व्यवसाय तथा होटल, रेष्टुरेन्ट भने बिहान ११ देखि ६ बजेसम्म मात्रै खोल्न दिने निर्णय भएको सहायक प्रजिअ बरालले बताउनुभयो। औषधी र पेट्रोल पम्प भने २४ सै घण्टा खुल्ला रहनेछ ।

बैठकले गरेको निर्णय अनुसार बैङ्क, सहकारी, लघुवित्त, बिमा कम्पनी लगायतका वित्तीय संस्थाको सेवा प्रवाह भने नियमित जस्तै कम भिड गरेर सञ्चालन हुने उहाँले जानकारी दिनुभयो ।

आइतबार बसेको बैठकले अबका दिनमा कोभिड सङ्क्रमितको उपचारका लागि दमौली अस्पताल र जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास केन्द्रलाई अनुमति दिने निर्णय गरेको सहायक प्रजिअ बरालले जानकारी दिनुभयो ।

सरकारी तथा गैरसरकारी कार्यालयहरूले सेवा पनि निरन्तर कार्यालय समयमा हुनेछ । भौतिक रुपमा उपस्थित भई हुने पठनपाठन लगायतका शैक्षिक गतिविधि गर्न पनि रोक लगाइएको छ ।

यदि कोही कसैले उक्त आदेशको उल्लङ्घन भएमा कोभिड–१९ सङ्कट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७८ तथा स्थानीय प्रशासन ऐन २०२८ बमोजिम कारबाही हुनेछ ।

के–के सञ्चालन गर्न पाइँदैन ?

सिनेमा हल, पार्टी प्यालेस, डान्स बार, दोहोरी नाचघर, क्लब हेल्थ क्लब, सैलुन सेवा व्युटपार्लर, कस्मेटिक बिक्रीबाहेक जिमखाना, स्विमिङ पुल, फुटसल, सभा, आमसभा, जुलुस, हाटबजार, साइकल र मोटरसाइकलमा गरिने व्यापार, रङ्गशालामा हुने दर्शकसहितको खेलकुद, तालिम, सेमिनार, भर्चुअलबाहेक भौतिक उपस्थितिमा गरिने शिक्षण प्रशिक्षण र मानिसको भिडभाड हुने सबै प्रकारका कार्यक्रम पूर्णरुपमा बन्द गरिएको छ ।

मठ, मन्दिर मस्जिद, चर्चलगायतका धार्मिक स्थलमा जमघट नगरी जनस्वास्थ्यका निर्धारित मापदण्ड पालना गर्ने गरी नित्य पूजा मात्र गर्न गराउन पाउने छन् ।

सामाजिक र सांस्कृतिक कार्य विवाह, व्रतबन्धलगायतका कार्यमा १५ जनाभन्दा बढी सहभागी नहुने र सहभागीले निर्धारित मापदण्ड पूर्णरुपमा पालन गर्ने गरी पूर्वस्वीकृति लिएर मात्र सञ्चालन गर्ने गराउने व्यवस्थालाई प्रभावकारी बनाउने, निजी सवारीसाधन सञ्चालन गर्ने गराउने निर्णय भएको बताइएको छ ।