१४ बैशाख २०८१, शुक्रबार

सुजिता प्रकरण : ठूलो बुबा भन्छन्– परिवार सामाजिक बहिस्कारमा परे

sujita thulabuwa

चितवन राप्ती नगरपालिका ३ की सुजिता भण्डारी निधन प्रकरणपछि उनका परिवार सामाजिक बहिस्कारमा परेका छन् ।

सुजिताको घटना थामथुम पार्न आफ्नो भूमिका रहेको भन्ने हल्ला चल्न थालेपछि उनका ठुलोबुबाले आज आइतबार पत्रकार सम्मेलन गरी आफन्तकै कारण परिवार सामाजिक बहिस्कारमा परेको बताए ।

घटना थामथुम पार्न आफ्नो कुनै भूमिका नरहेको सुजिताका ठूलोबुवा कमलनाथ भण्डारीले स्पष्ट पारे । सुजिताका माईजु पर्ने शान्ती निरौलासहित मामाको छोरा किशोर निरौला र सानुबुवा लक्ष्मी खतिवडाले झुटो बोलेर शव बुझेको उनको दाबी छ ।

सुजिताको शव परीक्षणका लागि काठमाडौं लगेर फर्केदेखि आफूलाई त्यसपछिको घटनाक्रम केही जानकारी नभएको कमलनाथले बताए । गाउँलेले शव नबुझ्न दबाब दिएपछि झापाबाट आएका खतिवडा सहित तीन जनाकै मिलेमतोमा शव बुझेर अन्त्येष्टी गरिएको दाबी कमलनाथको छ ।

आफ्नै परिवार भित्रको शव ल्याएपछि अन्त्येष्टीका लागि भने आफू गएको उनले बताए । गाउँलेको सहमतिबिनै शव ल्याएर अन्त्येष्टी गर्ने दिनदेखि अहिलेसम्म सुजिताको घरमा कोही पनि नगएको र अन्य काममा समेत बहिस्कृत हुनु परेको ठूलो बुबा कमलनाथले बताए ।

शव ल्याउन मुख्य भूमिका खेल्ने ती तिन जनाले सुजिताको परिवारलाई गाउँलेसँग सम्बन्ध सुधार्नु पर्ने, कुनै घटना भए तीनै जनाले जिम्मेवारी लिनुपर्ने उनले पत्रकार सम्मेलनमा बताए ।

घटनासँग जोडिएका सुजिताका काईलो काका छोरा सचिन भण्डारीकी आमा र सुजिताकी आमा दिदि बहिनी हुन् । सचिन र सुजिताकै माईजु लक्ष्मी निरौला हुन् । आफन्त भएकै कारण घटना छुपाउन उनीहरु सक्रिय रहेको कमलनाथले दावी गरे ।

शव लिन झापाबाटै आएका आफन्त किशोर निरौला गएपछि शव लिएर फर्कदा भने छुट्टै आएका थिए । गत असार ११ गते घरबाट निस्किएकी सुजिताको शव घर नजिकैको सामुदायिक वनको कोर एरियामा असार २० गते फेला परेको थियो ।

आत्महत्या नभई हत्यानै भएको दाबी :

स्वर्गीय सुजिताका ठूलोबुवा कमलनाथ भण्डारीले सुजिताले आत्महत्या गरेको नभई हत्या भएको दाबी गरेको छन् । डाक्टरले बलत्कार नभएको बताउनु, भिसेरा रिपोर्ट अझै पनि नआउनुले शंका उब्जाएको उनले बताए ।

‘आत्महत्या गर्न पाँच घण्टा हिँडेर जानै पर्दैन ठूलो बुबा’ कमलनाथले भने ‘घटनाका बारे कुरा बाझिनुले सुजिताको हत्या नै भएको हो ।’

आत्महत्या गर्न बाध्य भएको भन्ने भिडियो प्रहरीले फेला पारेको भनेर हल्ला फिजाउनु वा गोप्य राखिनुले सुजिताको हत्या भएको उनकी भाउजु पर्ने दुर्गा भण्डारीले पत्रकार सम्मेलनमा बताइन् ।

अभियुक्त भनिएका सचिनबाट घटनाको निष्कर्षमा पुग्नुपर्नेमा अनुसन्धान के भइरहेको छ भनि उनले प्रश्न गरिन् । सुजिता र सचिन नाताले दाजु बहीनी पर्छन् । घटनामा परिवारका अन्य सदस्य जोकोही संलग्न रहे पनि कारबाही हुनुपर्ने ठूलोबुबा कमलनाथले बताए ।