१३ बैशाख २०८१, बिहीबार

चितवनमा प्रेम सम्बन्ध र पैसाले निम्त्याएका तीन घटना : सुजिता, बिना र भरत प्रकरण

sujita bina bhatar prakaran 1024x653 1

अहिलेको समयमा प्रेम सम्बन्ध र पैसा बिनाको मानवीय जीवन कस्तो होला ? यसको कल्पनातर्फ हामी नलागौं । किनकी मानव जीवनमा प्रेम र पैसा अपरिहार्य बनिसकेको छ । यहाँ अहिले प्रेम भनेर दुई जोडी बीचको प्रेम सम्बन्धलाई बुझौं ।

अनि पैसा । अहिलेको समयमा पैसा बिना मानिसले आफ्नो जीवन गुजाराको कल्पना गर्न सक्छ होला र ? पैसा बिना उसको गुजारा चल्ला ? अहँ चल्दैन । केही साधुसन्तहरुले पैसा नभए पनि हाम्रो गुजारा चल्छ भन्लान अन्यथा सबै मानिसलाई पैसाको नितान्त आवश्यक पर्दछ ।

यही प्रेम र पैसा कै कारण मानिसको ज्यान लिने घटना भइरहेका छन् । पछिल्लो समय चितवनमा प्रेम र पैसाका कारण मानिसको ज्यान जाने तथा बेपत्ता हुने घटनाहरु भइरहेका छन् । ती मध्येका पछिल्ला तीन उदाहरणहरु यहाँ प्रस्तुत गरिएको छ ।

घटना १ :

राप्ती नगरपालिका ३ की २३ वर्षीय सुजिता भण्डारीको मृत्यु अनैतिक प्रेम सम्बन्धका कारण भएको पुष्टि हुने आधारहरु प्रहरीले फेला पारिसकेको छ । आफ्नै दाई (ठूलो बुवाको छोरा) सँगको प्रेम सम्बन्धका कारण सुजिताले ज्यान गुमाउनु परेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले मृतक सुजिताको ठुलबाबाको छोरा पर्ने सचिन भनिने सुकदेव भण्डारीलाई पक्राउ गरेको छ ।

209943771 1670882103101839 3344751865514636967 n

सुजितालाई आत्महत्या गर्न बाध्य पारिएको भन्दै आमा अम्बिका भण्डारीले जिल्ला प्रहरी कार्यालयमा सुकदेवको नामै किटान गरेर मुद्दा दर्ता गरेकी थिइन् । झापाको झापा गाउँपालिका– ६ शरणमतिका २३ वर्षीय सुकदेव र सुजिताबीच विवाह गर्ने सम्मको तयारी भएको खुलेको सुजिता मृत्यु प्रकरणका अनुसन्धान अधिकृत डिसएपी इन्द्रबहादुर रानाले जनाए । डीएसपी रानाका अनुसार असार ९ गते सुजिताले विवाह गर्न प्रस्ताव गरेपछि यी दुईबीचमा विवाद सृजना भएको थियो ।

परिवार स्रोतका अनुसार सुजिता असार ११ गतेदेखि बेपात्ता भएकी थिइन् । असार ११ गते बिहान ६ बजे साथीको घर जाने भनेर हिँडेकी थिइन् सुजिता । उनले सोही दिन १२ बजे दिदीलाई फोन गरेर अपहरणमा परेको बताएकी थिइन् । त्यसलगत्तै परिवारले प्रहरीलाई खबर गरेको थियो ।

तर १० दिनसम्म पनि प्रहरीले सुजिताको बारेमा पत्ता लगाउन सकेन । असार २० गते आइतबार साँझ ब्रह्मास्थानी सामुदायिक वनमा च्याउ टिप्न गएका स्थानीयले एक युवतीको शव देखे । शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरे । प्रहरी र सुजिताको परिवार पुगेपछि शव सुजिता कै भएको पुष्टि भयो । वनको बीचमा एउटा झाङमा अड्किएको अवस्थामा उनको शव फेला परेको थियो । उक्त वन सुजिताको घरभन्दा करिव ५ किलोमिटरको दुरीमा रहेको छ ।

हराएको १० दिनसम्म पनि प्रहरीले घटनाबारे केही अनुसन्धान गर्न नसकेको भन्दै स्थानीयहरु प्रहरी प्रशासनविरुद्ध खनिँदै नाराबाजी गर्दै राप्ती नगरपालिका ३ क्षेत्रको पूर्वपश्चिम राजमार्ग समेत अवरुद्ध गराएका थिए । लामो समयसम्म राजमार्ग अवरुद्ध गराएपछि चितवन प्रशासनले स्थानीयसँग सम्झौता गरी राजमार्ग खुलाइएको थियो । त्यसपछि प्रहरीले सुजिताको शव पोष्टमार्टमका लागि काठमाडौं पठाएको थियो ।

पोस्टमार्टम रिर्पाेटमा सुजिताको शरीरमा कुनै चोटपटक नलागेको र बलात्कार पनि नभएको उल्लेख छ । यसबाट सुजिताको हत्या गरिएको भन्ने पुष्टि हुने आधार फेला पर्न सकेन । सुजिताको मृत्यु कसरी भयो भन्ने कुरा रहस्यमै रहेका बेला साउन ४ गते देवघाटमा सुजिताको अन्त्येष्टी गरियो ।

के सुजिताले आत्महत्या नै गरेकी हुन् त ? यसको पुष्टि पनि प्रहरीले गर्न सकेको छैन । तथापी घटना रहस्यमै बनिरहेका बेला आत्महत्या दुरुत्साहन आरोपमा दाई पक्राउ पर्नु, दाई र सुजिताबीचको प्रेम सम्बन्ध रहेको खुल्नुले आत्महत्या हो की भन्ने तर्फ पुष्टि गर्ने आधारहरु निर्माण हुँदै गएको प्रहरीले जनाएको छ । चितवन प्रहरीका अनुसार सुजिताको भिसेराको रिपोर्ट आइसकेको छैन । भिसेराको रिपोर्ट आएपछि थप कुरा थाहा हुने प्रहरीको भनाइ छ । भिसेराको रिपोर्ट आएपछि सुजिताले मृत्युअघि के खाएकी थिइन् पत्ता लाग्ने छ ।

घटना २ :

चितवनमा पैसाका लागि आफ्नै साथीको हत्या भएको छ । ९ लाखका लागि आफ्नै साथीको हत्या गर्ने नेपाली सेनाका एक जना पक्राउ परेका छन् । नेपाली सेनाको दि फेमस महिन्द्र दल गण शिवपुरीमा कार्यरत रहेका गंगाधर ढकालले सोही गणमा कार्यरत जवान भरत गुरुङको हत्या गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

bharatgurung gyanebndra dhakal 1

साउन ७ गते बिहीबार बिहान भरतको शव भरतपुर महानगरपालिका वडा नम्बर १७ सिमलडाडामा नहरमा फेला परेको थियो । ३६ वर्षीय भरत धादिङ निलकण्ठ नगरपालिका निवासी हुन् । भरतको टाउकोमा गोली लागेको थियो ।

चितवन प्रहरीले गंगाधरलाई बिहीबार नै भरतपुर १८ चनौलीबाट पक्राउ गरिएको जनाएको छ । भरतलाई रक्सि खुवाएर गंगाधरले राति मोटरसाइकलमा डुलाएको र नहरमा पुगेपछि पिसाब फेर्ने बाहनामा झर्न लगाई गोली हानेर भागेको पाइएको प्रहरीले जनाएको छ ।

घटनास्थलबाट एक थान गोलीको खोका बरामद गरिएको थियो । यस्तै घटनामा प्रयोग गरिएको मोटरसाइकल, बन्दुक, गोली समेत चितवन प्रहरीले बरामद गरेको छ ।

९ लाख रुपैयाँका लागि गंगाधरले आफ्नै साथिको हत्या गरेको पाइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एवम् प्रहरी उपरीक्षक (एसपी) ओम अधिकारीले जानकारी दिए । भरतको बैंकमा रहेको रकम गंगाधरले किर्ते गरेर (आफै साइन गरेर) निकालेको र पैसा निकालेपछि भरतको हत्या गरेको पाइएको उनले बताए । भरतको बैंकबाट पैसा निकालेर गंगाधरले आफ्नो घरमा दिएको पाइएको र सो रकम समेत बरामद गरिएको एसपी अधिकारीले जनाए । घटनाबारे थप अनुसन्धान जारी रहेको उनले बताए ।

घटना ३ :

नवलपुर जिल्ला गैँडाकोट नगरपालिका – ४ की २१ वर्षीय बिना सापकोटा गत असार १४ गते भरतपुरबाट हराइन् । बिना अझै फेला परेकी छैनन् । उनी नारायणी नदी किनारसम्म पुगेको सिसीटिभी फुटेजमा देखिएको चितवन प्रहरीले जनाएको छ । सिसीटिभी फुटेजमा देखिएको कुरालाई आधार मानेर बिना नारायणीमा हाम फालेको हुन सक्ने आशंका व्यक्त गर्न थालिएको छ ।

यो घटना पनि प्रेम सम्बन्धका कारण निम्तिएको छ । एउटा केटाले दुई जना केटीसँग प्रेम सम्बन्ध राख्दा यो घटना निम्तिन पुगेको आधारहरु पुष्टि हुँदै गएका छन् ।

girl

बिनाका बुबा जयश्वर सापकोटाका अनुसार बिना असार १४ गते अपरान्ह साढे ४ बजे घरबाट निस्किएकी थिइन् । बिनालाई उनका प्रेमी प्रवेश कँडेलले घरैबाट स्कुटरमा राखेर लगेका थिए । आधा घण्टामा आउँछु भनेर छोरी प्रवेशसँग घरबाट निस्किएको जयश्वरले बताउँदै आएका छन् ।

प्रहरीले बिनाका प्रेमी भरतपुर महानगरपालिका–४ का प्रवेश कँडेललाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । बेलायतमा रहँदै आएका प्रवेश वैशाखको दोस्रो हप्ता नेपाल आएका थिए । प्रवेशको जुलाईको १२ तारेखमा बेलायत फर्कने टिकट थियो । उनी नेपाल फर्किएपछि चारदिनसम्म बिनाको घरमा नै बसेको परिवारिक स्रोतले जनाएको छ ।

प्रवेश र बिनाको प्रेम सम्बन्धको कुरा दुबै परिवारलाई थाहा थियो । प्रवेश बिनाको घरमा बेलाबेलामा पुगिरहन्थे । बिनाले अर्की एक केटीको विषयमा सोधपुछ गरेपछि प्रवेश तीन जना सँगै बसेर कुरा गर्न तयार भए । बेपत्ता भएकी बिना प्रवेशको स्कुटर चढेर भरतपुरतर्फ लगेकी थिइन् ।

चितवन प्रहरीका अनुसार बिनाको प्रेमी प्रवेशले आफ्ना दुई प्रेमिका बिना र कुसुमको भेट गराएपछि दुई जनाको बीचमा बाझाबाझ भएको र बिना बेहोस भएको बयान दिएका छन् । सुरुमा सामान्य कुराकानी भए पनि पछि बिना र कुशुमबीच विवाद भएको थियो । बेहोस भएकी बिनालाई कुसुमको घर लगेको प्रवेशले प्रहरीसँग बताएका छन् । कुशमको घर नजिकै एक चौरमा बसेर तीन जनाबीच कुरा भएको थियो । साँझ साढे ६ बजेतिर छोरी बेहोस भएको खबर बिनाका बुवा जयश्वरलाई आएको थियो । ‘खबर सुन्नासाथ मोबाइल छोरीलाई दिन भने तर बिना राम्रोसँग बोल्न सकिनन् । तिमीहरु कता छौ म आउँछु भन्दा प्रवेश र बिना दुबैले उनीहरु भएको ठाउँ बताएनन्’ जयश्वरले भने, ‘प्रवेशलाई सवारीसाधन नभए मेरी छोरीलाई अटोरिक्सामा भए पनि घर ल्याइदिइहाल भनेँ ।’

प्रवेशले प्रहरीसँगको बयानमा ती युवतीको घरबाट बिनालाई गैँडाकोट पु¥याउन स्कुटर निकाले पनि बिना त्यसमा बस्न नमानेको बताएका छन् । उनका अनुसार बिना पैदल नै चौबिसकोठीसम्म गएको तर आफू एटीएममा पसेको बेला बेपत्ता भएको बताएका छन् ।

त्यसपछि बिनाका बुवा जयश्वर र प्रवेशले राती २ बजेसम्म भरतपुरका विभिन्न ठाउँमा बिनालाई खोजेका थिए । नभेटेपछि जयश्वर प्रवेशलाई पनि लिएर गैंडाकोटस्थित घर पुगे । घटनाको विषयमा प्रहरीलाई मौखिक जानकारी गराएका थिए ।

त्यसपछि प्रहरीले प्रवेशलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरिरहेको थियो । अनुसन्धान भइरहेका बेला साउन १ गते बिना नारायणी नदी किनारतर्फ जाँदै गरेको सिसिटिभी भिडियो भेटियो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिना नारायणगढको लीलाचोकबाट नारायणी नदी किनारतर्फ गएको स्थानियले बताएका छन् । चितवन प्रहरीले नारायणगढस्थित नारायणी किनार नजिकैको एक पसलले राखेको सिसिटिभी क्यामेराको रेकर्डमा बिना कैद भएको भिडियो पनि पाइएको बताएको छ ।

राति ८ बजेर ४१ मिनेटमा बिना नारायणी नदीको किनारतर्फ जाँदै गरेको फुटेज भेटिएको प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) सूर्यबहादुर थापाले जानकारी दिए । थापाका अनुसार बिनाले नारायणगढको लीलाचोक नजिकका एक व्यक्तिसँग फोन मागेर आफ्नो प्रेमी प्रवेशसँग कुराकानी गरेकी थिइन् । बिनाले अपरिचित व्यक्तिको मोबाइलबाट ११ सेकेन्ड प्रवेशसँग बोलेको भेटिएको छ । केहीबेर बोलेपछि फोन दिएर बिना नदीकिनारतर्फ गएको पसलेले बताएको डीएसपी थापाले जानकारी दिए ।

सोही दिन राति ८ बजे भरतपुरस्थित भाटभटेनी अगाडि हतार लम्किँदै युवती हिँडिरहेको देखेको स्थानीयले देखेको बताएका थिए । त्यसपछि प्रहरीले नारायणगढ बजार क्षेत्रमा रहेका क्यामरामा उनको खोजी गरिरहेको थियो । बिना नदीकिनारतर्फ गएकी भेटिएपछि प्रहरी र आफन्तले त्यस आसपासमा बिनाको खोजी गरिरहेका छन् । बिना नारायणी हाम फालेको आशंका व्यक्त गर्न थालिएको छ ।

नारायणी अनलाइन