१३ बैशाख २०८१, बिहीबार

चार घण्टापछि खुल्यो पूर्व–पश्चिम राजमार्ग

Highway 6

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको नवलपुरमा शुक्रवार दिउँसो टिफरको ठक्करबाट एक जना साइकल यात्रीको निधन भएपछि स्थानीयले अवरुद्ध पारेको राजमार्ग ४ घण्टापछि खुलेको छ ।

सुक्रवार दिउँसो साढे २ बजेतिर नवलपुरस्थित मुख्य बजारमा राम जानकी मन्दिर अगाडि पूर्वबाट पश्चिमतर्फ गइरहेको ना ७ ख ८२९३ नम्वरको टिफरले ठक्कर दिँदा साइकलमा घाँस लिएर हिँडिरहनु भएका लालबन्दी नगरपालिका–२, जुटपानीका ३५ वर्षीय रामनरेश महतोको घटनास्थलमै निधन भएको थियो । महतोको निधनपछि स्थानीयवासीले अवरुद्ध पारेको राजमार्ग साँझ साँढे ६ बजेपछि सूचारु भएको हो ।

४ घण्टाको चक्काजामका कारण ठूलाखाले सवारी साधनको पश्चिम चन्द्रनिगाहपुर र पूर्व बर्दिवाससम्म नै जाम लागेको थियो । लालबन्दी नगरपालिकाका मेयर मानबहादुर खड्काको उपस्थितिमा पीडित पक्षसँग छलफल गरी मृतकको परिवारलाई उचित क्षतिपूर्ति दिलाउने सहमतिमा राजमार्ग खोलिएको हो ।

सो सहमतीसँगै ४ घण्टासम्म राजमार्गमा नै रहेको मृतकको शव पोष्टमार्टमका लागि सर्लाहीको जिल्ला अस्पताल मलङ्गवा पठाइएको छ । महतोको मृत्यु लगत्तै स्थानीयवासीले राजमार्ग अवरुद्ध पार्दै टिफरमा तोडफोड र आगजनीको प्रयास गरेका थिए ।

टिफर जलाउने प्रयास भएपछि प्रहरीले भीड हटाउन ४ राउन्ड अश्रुग्याँस समेत प्रहार गरेको थियो । स्थानीयले टिफरमा सामान्य तोडफोड भने गरेका छन् ।

दुर्घटना लगत्तै तनावग्रस्त बनेको नवलपुर बजारमा जिल्लाभरबाट ठूलो सङ्ख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी तैनाथ गरिएको थियो । दुर्घटनामा संलग्न टिफरका चालक प्रहरी नियन्त्रणमै रहेका ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक निर्मल थापाले जानकारी दिनुभयो ।