१४ बैशाख २०८१, शुक्रबार

सरकारले नागरिकमा छाएको निराशा चिर्ने गरी काम गर्नुपर्छ : कांग्रेस नेता सिंह

Prakashman Singh
फाइल फोटो

नेपाली काँग्रेसका नेता तथा पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले सरकारले नागरिकमा राजनीतिप्रति छाएको निराशा चिर्ने गरी काम गरेर देखाउनुपर्ने बताउनुभएको छ ।

आज भक्तपुरको मध्यपुर नगरपालिका वडा नं ३ को नव निर्मित वडा कार्यालय भवनको उद्घाटन गर्दै नेता सिंहले कुनै दलले पनि जनताले दिएको म्यान्डेटको अपमान गर्न नहुने बताउनुभयो ।नेता सिंहले जनप्रतिनिधि जनता र मुलुक प्रति उत्तरदायी हुनुपर्ने भन्दै जनप्रतिनिधिले गर्ने व्यवहारलाई नागरिकले उच्च महत्त्वको साथ हेरिरहेका हुनाले जनप्रतिनिधिको गतिविधिले जनताको राजनीतिकर्मी माथिको धारणा बन्ने बिचार व्यक्त गर्नुभयो ।

उहाँले जनमत र विधिको शासनको उपहास गर्दा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार ढलेको बताउनुभयो ।नेता सिंहले ओलीमा बढेको अहंताले मुलुकको राष्ट्रिय राजनीति फरक किसिमले अघि बढेको बताउँदै उहाँको भनाई र गराइमा फरक रहेको बिचार व्यक्त गर्नुभयो ।

सिंहले आफ्नो शासन कालमा के कति भ्रष्टाचारका समाचार आए भन्ने कुरा ख्याल गर्न समेत ओलीलाई आग्रह गर्दै दुईतिहाईको ओली सरकार बालुवाटारबाट बालकोट पुगेको दृष्टान्तबाट सबैले पाठ सिक्नु पर्ने बताउनुभयो ।